नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन आग्रह गरेका छन् ।
अहिले राजनीतिक दलहरूले राष्ट्रपतिमा आ-आफ्नो दलको दाबी गरिरहेकै बेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई भेटेरै यस्तो आग्रह गरेका हुन् ।
सोमबार अपरान्ह माओवादी संसदीय दलको कार्यालयमा उनीहरूबीच फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो ।
‘तपाईंले राष्ट्रिय सहमति भनिराख्नुभएको छ । एमालेलाई कांग्रेसले नमान्ने कांग्रेसलाई एमालेले नमान्ने अवस्था छ । त्यही भएर नेकपा एसमा राष्ट्रिय सहमति बनाऊँ । म राष्ट्रपति हुन्छु’, माधव नेपालले प्रधानमन्त्रीलाई भनेको स्रोतको भनाई छ ।
पुरानो गठबन्धन हुँदा पनि माओवादी कांग्रेसबीच कुरा नमिल्दा नेपालले आफू प्रधानमन्त्री हुने प्रस्ताव गरेका थिए । आफूलाई नै प्रधानमन्त्री बनाउन देउवासँग लबिङ गर्ने आस राखेका प्रचण्डले नेपाल आफू नै प्रधानमन्त्री हुने दौडमा पाएपछि गठबन्धन नै छोडेर एमालेसँग मिल्न पुगेका थिए ।
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले १० पुसमा भएको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनेमा ढुक्क भएको बताउँदै आएको छ । एमालेका हरेक नेताहरू प्रधानमन्त्री प्रचण्डलाई १० पुस सम्झाइरहेका छन् ।
१० पुसमा एमाले लगायतका अन्य दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए । एमालेको दाबी मान्ने हो भने त्यही दिन माओवादी र एमालेबीच प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिमा सहमति भएको थियो । जसअनुसार प्रधानमन्त्री माओवादी, सभामुख र राष्ट्रपति एमालेले पाउने भनिएको थियो । सभामुख पाइसकेको एमाले राष्ट्रपति पनि पाउनुपर्ने दाबी गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रिय सहमति गरेर नै राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छन् । अहिले हरेक दिन बालुवाटारमा नेताहरूबीच भेटवार्ता चलिरहेको छ ।

Leave a Comment