राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको अवधारणा अनुसार मुलुकका सबै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।
संघीयताको अवधारणा अनुरुप हेटौंडा र आसपासका क्षेत्रबाट आउने बिरामीको सेवा र विद्यार्थीहरुको शिक्षामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष पहल थालनी गर्नुपर्नेमा उनले जोडसमेत दिइन् । संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हक अन्तर्गतको गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै उनले रोग नलाग्नुमात्र स्वास्थ्य नभएको बताईन् ।
उनले जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढंगले नागरिकको घरदैलोमा पुर्याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको ठुलो भूमिका रहने बताईन् ।
शारीरिक र मानसिक रुपमा तन्दुरुस्त एवम् सकारात्मक रहन सक्नु वास्तविक अर्थमा स्वास्थ भएको उनको भनाइ छ । उनले गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको घर दैलोमा पुर्याउनु राज्यको महत्वपूर्ण दायित्व रहेको बताइन् । जनस्वास्थको उच्चतम लक्ष्य हासिल गर्न, नागरिकको घर दैलोमा सामान्य औषधि तथा आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक रहेको उनले प्रस्ट पारिन् ।
स्वास्थ्य सेवासँगै अनुसन्धानको क्षेत्रमा नविन कार्य गर्न सकेको खण्डमा जननेता मदन भण्डारीको नाममा स्थापित प्रतिष्ठानको उद्देश्यले सार्थकता पाउने उनको भनाइ छ । ‘स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज, सुदृढ अर्थतन्त्र विकास, स्वाधीन, आत्मनिर्भर र सवल राष्ट्रको निर्माण हुन सक्छ भन्ने यथार्थलाई कार्य रुप दिन संविधानले मौलिक अधिकारको रुपमा स्थापित गरेको हो’, उनले भनिन्, ‘प्रदेश राजधानी एवम् औद्योगिक नगरीको रुपमा रहेको हेटौंडामा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना हुनुले नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने छ भने अर्को तर्फ गुणस्तरीय स्वास्थ्य सेवा माध्यमबाट डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी तयार गर्न योगदान गर्नेछ ।’

Leave a Comment