खोटेहाङमा प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश नं १ सरकारको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा खोटेहाङ-७ खोटाङबजारमा स्थापना गरिएको क्रान्ति नायक राईको स्मृति पार्क तथा पूर्णकदको शालिक सोमबार उद्घाटन एवं अनावरण गरिएको हो ।
क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडीखेललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उदेश्यका साथ शालिकसहितको स्मृति पार्क निर्माण गरिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए । ‘क्रान्ति नायक रामप्रसाद राईको नाममा स्मृति पार्क तथा उहाँको शालिक आफ्नो गाउँपालिकामा स्थापना गर्न पाउँदा हर्षित भएका छौँ’, उनले भने ।
फाइवरबाट निर्माण गरिएको जननायक राईको शालिक नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन तथा अनावरण गरेका हुन् । स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणा राई ‘दीक्षा’, खोटेहाङ गाउँपालिका उपप्रमुख रुपेश राई, साकेला गाउँपालिका उपप्रमुख बिर्सिका राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार, लगायतको उपस्थिति रहेको थियो ।
खोटाङको पुरानो सदरमुकाम (विसं २०२० सालसम्म जिल्लाका सम्पूर्ण प्रशासनिक कार्यालयहरु रहेको) खोटाङ बजारमा स्थानीय युवाले फुटबल खेल्न प्रयोग गर्दै आएका टुँडिखेलमा तत्कालीन गाउँपालिका प्रमुख प्रदीप राईको पालामा गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ मा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)तयार पारेर क्रान्ति नायक राईको स्मृति पार्क निर्माणको काम अघि बढाएको थियो ।
पर्खाल, प्रतीक्षालय लगायतका संरचनाहरू यसअघि नै निर्माण गरिएको टुँडिखेलमा वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएपछि आवश्यक बजेट व्यवस्था गरेर क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्कलाई पूर्णता दिएर सञ्चालनमा ल्याएको हो ।
ब्रिटिस सेनाको जागिर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालीन राणा सरकारले क्रान्ति नायक राईको कमाण्ड (नेतृत्व)मा खोटाङ बजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा क्रान्ति नायक राईले विसं २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माविको प्राङ्गणमा करवीर फूल रोपेको प्रधानाध्यापक कुमार पराजुलीले बताए ।
क्रान्ति नायक राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेको स्थानीयहरु बताउँछन् । क्रान्ति नायक राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वी नेपालमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहेका थिए । विसं २००७ सालमा क्रान्ति नायक राईकै कमान्डमा भोजपुर अड्डा कब्जा भएको इतिहासमा उल्लेख छ । नेपाल सरकारले विसं २०७५ पुस १५ गते क्रान्ति नायक राईको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।
जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बनेका राईले खोटाङ बजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि शुरू गरेका थिए । खोटाङ बजार छाड्नुअघि क्रान्ति नायक राई ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बासिन्दाहरूले बताउँदै आएका छन् ।
क्रान्ति नायक राई छिमेकी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिका-७ बासिखोरामा बाबु धोजवीर राई र आमा रत्नमायाँ राईको कोखबाट विसं १९६५ फागुन-१८ गते जन्मिएका थिए । प्रजातन्त्र स्थापनापछि विसं २००८ साल अन्तरिम प्रधानमन्त्री मोहनशमशेर राणाको निर्देशनमा पक्राउ परेका क्रान्ति नायक राई हालसम्म बेपत्ता रहेका छन् ।
खोटेहाङ गाउँपालिका राईको शालिक स्थापना गरेर उच्च सम्मान दिएको छ । जहाँनीया राणा शासनको कहालि लाग्दो १०४ बर्षेको अन्त्य एकमात्र विकल्प क्रान्ति नै हो भन्ने बुझाईको विकास गरेका राईको शालिक स्थापना गरेर गाउँपालिकाले दिएको यसप्रकारको सम्मान प्रशंसनीय छ ।
उनले उठाएको क्रान्तिका बहाव फैलिएको छ । तर, २००७ साल यता रामप्रसाद बेपत्ता छन् । इतिहासमा केही लिखित र केही मोखिक किम्वदन्तिहरुका आधारमा वि.स. १९९९ सालमा रामप्रसाद राई खोटेहाङमा सैनिक अफिसरका रुपमा पुगेका थिए । उनी पूर्व बृटिस लाहुरे भएपनि देशमै केही गर्ने हेतुले नेपाल फर्किएर सेनामा जोडिएका थिए ।
नेपालको इतिहासमा जनताको तर्फबाट विसं. २००८ माघ ८ गते राति सिंहदरबार कब्जा गर्ने प्रयास गरिएका थियो । विदेशमा विद्रोहमार्फत् केन्द्रीय सत्ता कब्जाका घटनाहरु हुने गरे पनि नेपालमा चाँहि रामप्रसाद राई र डा. केआइ सिंहले यस्तो योजना बनाएका थिए । पूर्वबाट सेनासहित पुगेका रामप्रसाद राईले सिँहदरबार घेरे तर, के आई सिँले ढिलो गरे भन्ने गरिएको छ । असफल प्रयासपछि सबै फर्किए पन रामप्रसाद भने फर्किएनन् । त्यहीबाट उनि हालसम्म बेपत्ता छन् । उनै राईले राणा सरकाले जागिर खोसुवा गरेपछि खोटेहाङ छाडेर जाँदै गर्दा स्थानीयहरुसँग अब एकबर्ष भित्र केही न केही हुने भन्दै सन्देश छाडेको अहिलेपनि त्यहाँका वृद्धावृद्धले भन्ने गर्छन् ।

Leave a Comment