Latest News
Kathmandu

गृहमन्त्री लामिछानेको उपस्थितीमा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न

गृहमन्त्री लामिछानेको उपस्थितीमा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न

काठमाडौं दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दिवसीय योग विज्ञान शिविर कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा शिविर सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए ।

स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’

गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताए ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने उल्लेख गरे ।
यसैगरी कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ ल्याउदैँ 
पछिल्लो समाचार →
सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै डेङ्गुको सङ्क्रमण 

Leave a Comment

Your email address will not be published. Required fields are marked *