Latest News
Kathmandu

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्न माग

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्न माग

७ माघ, काठमाडाैँ । पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

श्रमजीवी पत्रकार संघ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सिभिल अस्पताललाई कारबाही गर्न माग गरेको हाे ।

संघले विज्ञप्ति जारी गरी घटनाका दोषीउपर छानविनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो । २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए ।

त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ । समाजवादी प्रेस सङ्गठन नेपालले पनि विज्ञप्ति जारी गरी पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील पत्रकार र समाजवादी प्रेस सङ्गठनले एक कर्मठ संस्थापक सदस्य गुमाएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले पनि पत्रकार विश्वकर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । मृतक विश्वकर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रासस

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी
पछिल्लो समाचार →
थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Comment

Your email address will not be published. Required fields are marked *