Latest News
Kathmandu

विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको पत्र

विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको पत्र

९ माघ, काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ भन्ने शब्द हटाउन भनेको छ । आयोगले यही माघ २ गते दुई पृष्ठ लामो एक पत्र पठाएर राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन भनेकाे हाे ।

आयोगले राप्रपाको संशोधित विधान तथा केन्द्रीय समितिको विधान अद्यावधिकका लागि यसअघि नै राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन लगाएको कुरा पनि स्मरण गराएको छ । ‘त्यस दलबाट पेश भएका विधान लगायत कागजात जाँचबुझ एवम् अध्ययन गर्दा दलको विधानमा समावेश भएका केही विवरण संशोधन/परिवर्तन गर्नु पर्ने तथा हटाउनुपर्ने देखियो’, आयोगले भनेको छ, ‘उक्त पार्टीको विधान बमोजिमको आधिकारिक निकायबाट निर्णय गरी संशोधित विधान र नियमावली ७ दिनभित्र पेश गर्न हुन आदेशानुसार अनुरोध छ ।’

आयोगले संशोधन गर्नुपर्ने भन्दै राप्रपालाई आफ्नो विधानबाट संविधान प्रतिकूल रहेका ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भनी उल्लेख वाक्यांश हटाउन भनेको छ । ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन’, आयोगले भनेको छ, ‘विधानको प्रस्तावनाको बुँदा ५ मा उल्लेखित ‘अन्तरिम विधान’ भन्ने वाक्यांश को सट्टा राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान, २०७८’ उल्लेख गर्नु हुन। विधानको धारा १(घ) मा उल्लेखित ‘सबै व्यक्ति तथा निकायहरुमा’ भन्ने वाक्यांश को सट्टा ‘राप्रपामा आवद्ध सबै सदस्यहरूमा’ भन्ने वाक्यांश उल्लेख गर्नु हुन ।’

निर्वाचन आयोगले नेपालका राष्ट्रिय प्रतीकलाई कुनै पनि दलको चुनाव चिन्ह या झण्डाका रुपमा प्रयोग गर्न नपाइने पनि भनेको छ । आयोगले राप्रपालाई चुनाव चिन्हका रुपमा प्रयोग गरिएको गाई हटाउन पनि भनेको छ । गाई नेपालको राष्ट्रिय जनावर हो ।

आयोगका शाखा अधिकृत मधुकरप्रसाद पोखरेलद्वारा हस्ताक्षरित उक्त पत्रलाई शनिबार राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एसईई परीक्षा वैशाखमा गर्ने तयारी
पछिल्लो समाचार →
बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार

Leave a Comment

Your email address will not be published. Required fields are marked *