Latest News
Kathmandu

सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै

सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व धुमधामका साथ मनाइँदै छ ।
भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ ।
गौरा पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ ।
गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत्रुपमा सुरु हुन्छ ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रुपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइन्छ ।
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ ।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगु वंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान् पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
प्राचीनकालदेखि भगवान् शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
पछिल्लो समाचार →
मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Leave a Comment

Your email address will not be published. Required fields are marked *