Latest News
Kathmandu

एनआरएनएमा बृहत् एकता अपरिहार्य भइसक्यो: उपाध्यक्ष सुनील साह

एनआरएनएमा बृहत् एकता अपरिहार्य भइसक्यो: उपाध्यक्ष सुनील साह

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सुनील साहले नेपालमा हालै भएको राजनीतिक परिवर्तनका कारण पनि गैरआवासीय नेपाली संघभित्र बृहत् एकताको आवश्यकता टड्कारो भइसकेको बताएका छन्।

नेपाल न्युज बैंकसँग कुरा गर्दै उनले आफू सधैँ सहमतिको पक्षमा रहेको र जुनसुकै बेला पनि मिल्नुपर्छ भन्ने विचारमा अडिग रहेको स्पष्ट पारे। “नेपालको अहिलेको परिस्थितिमा हामीले पुनर्निर्माणमा सहयोग गर्नुपर्ने छ। एनआरएनएले काठमाडौंस्थित ट्राफिक प्रणालीको पुनर्निर्माणमा सहयोग गरेको छ। तर, यदि हामी एकजुट भयौँ भने अझ बलियो सहयोग पुर्‍याउन सक्छौँ,” उनले भने।

“सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले गत मे महिनामा महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। त्यसैले हाम्रो भनाइ एकता महाधिवेशनको म्यान्डेटअनुसार नै सहमति हुनुपर्छ भन्ने हो,” उनले थपे। “एनआरएनए नागरिकताको कार्यान्वयनका लागि, नेपालको विकास र समृद्धिका लागि पनि हामी मिलेर अगाडि बढ्यौँ भने मात्रै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छौँ।”

संघलाई एकताबद्ध बनाउन एनसीसी अमेरिकाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै एनसीसी अमेरिकाका पूर्वअध्यक्षसमेत रहिसकेका साहले एनसीसी र केन्द्रमा समेत एकता कायम गर्न आफूले सक्दो प्रयास गरिरहेको जानकारी दिए।

संघका केन्द्रीय अध्यक्ष महेशकुमार श्रेष्ठको नेतृत्वमा गत नोभेम्बर १ मा तयार पारिएको सहमतिको मस्यौदाले एनआरएनएलाई फेरि साझा मञ्चमा ल्याउने इमानदार प्रयास गरेको बताउँदै साहले उक्त मस्यौदाले संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गरे।

“संघको १०औँ महाधिवेशनपछि गठित विभिन्न समितिहरूको अस्तित्वलाई स्वीकार गर्दै विगतमा एनआरएनएका अभियन्ताहरूको योगदानलाई पनि हामीले सम्मान गर्नुपर्छ। अदालतमा रहेका मुद्दाहरूलाई आपसी सहमतिमा फिर्ता लिएर संस्थागत एकताको दिशामा ठोस कदम चाल्न सकिन्छ,” उनले भने।

साहले अन्तमा भने, “एनआरएनए कुनै एक व्यक्ति वा समूहको मात्र संगठन होइन, यो विश्वभरका नेपालीहरूको साझा संस्था हो। त्यसैले, व्यक्तिगत अहम् र विगतका तीतामीठा घटनाक्रमलाई बिर्सेर संस्था र मातृभूमिको सर्वोच्च हितका लागि एकजुट हुनुको विकल्प छैन।”

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा
पछिल्लो समाचार →
बस्ती जोड्ने सडकको मुख्यमन्त्री शाहद्वारा शिलान्यास

Leave a Comment

Your email address will not be published. Required fields are marked *