Latest News
Kathmandu

बस्ती जोड्ने सडकको मुख्यमन्त्री शाहद्वारा शिलान्यास

बस्ती जोड्ने सडकको मुख्यमन्त्री शाहद्वारा शिलान्यास

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको पूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका वडा नम्बर १, २ र ३ (बिच्छ्या, कोट र बौडी) जोड्ने सडकखण्डको शिलान्यास गरेका छन्।

बाजुराकै अति विकट क्षेत्रमा पर्ने बिच्छ्याका बासिन्दाले वर्षौंदेखि सडक सुविधा नहुँदा भोग्दै आएको कष्ट अन्त्य गर्ने उद्देश्यका साथ मुख्यमन्त्री शाहले सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्।

झन्डै ६०० घरधुरी रहेको यस क्षेत्रमा सडक अभावकै कारण शिक्षा, स्वास्थ्य, खाद्यान्न ढुवानीदेखि दैनिक जीवनसम्म चुनौतीपूर्ण रहँदै आएको थियो। सडक निर्माण भएपछि यहाँका नागरिकलाई ठूलो राहत मिल्ने भएको छ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटअन्तर्गत २ करोड ६५ लाख रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। यसमा हुम्लाको ताजाकोट गाउँपालिकाले पनि ५० लाख रुपैयाँ विनियोजन गरी सहयोग पुर्‍याएको छ।

यता, कर्णाली प्रदेशतर्फ हुम्लाको खडाडी, पम्फाने हुँदै मैनासम्मको ७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।

हिमाली गाउँपालिका–१ को कार्यालयसम्म ६ किलोमिटर ट्र्याक खोल्ने काम सुरु हुनेछ। शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा विकास गतिविधिहरू अगाडि बढ्न थालेको उल्लेख गर्दै यसलाई सङ्घीयताको सकारात्मक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।

विकास जादुको छडी नभएर क्रमिक रूपमा हुने भएकाले विकटका नागरिकको समस्या समाधान गरिने मुख्यमन्त्री शाहले बताए। उनले विकट बस्तीसम्म क्रमिक रूपमा पूर्वाधार विस्तार गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले सडक सञ्जालको उन्नतिको साथै स्वास्थ्य, शिक्षा र आधारभूत सेवाको क्षेत्रमा समेत बजेट छुट्याइने आश्वासन दिएका छन्। सडक निर्माण हुने भएपछि यहाँका स्थानीय खुसी भएका छन्। सडक सञ्जालबाट वञ्चित यहाँका स्थानीयलाई सडक सञ्जालको पहुँच पुगेपछि दैनिक आवतजावतमा सहयोग पुग्नेछ।

शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री नरेशबहादुर शाही, प्रदेशसभा सदस्य जुना दानी, बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहरा, हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, स्थानीय तह तथा वडाका जनप्रतिनिधिहरू लगायत पत्रकारहरूको सहभागिता रहेको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एनआरएनएमा बृहत् एकता अपरिहार्य भइसक्यो: उपाध्यक्ष सुनील साह
पछिल्लो समाचार →
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज

Leave a Comment

Your email address will not be published. Required fields are marked *