काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै अदालतले १० वर्षको कैद सजाय सुनाएको छ।
ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा उनी दोषी ठहर भएकी हुन्।
ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रोबिउल आलमले दुई फरक मुद्दामा प्रत्येक ५–५ वर्षको सजाय सुनाउँदै कुल १० वर्षको जेल सजाय तोकेका छन्।
उही मुद्दामा शेख हसिनाकी बहिनी, शेख रेहानाकी छोरी तथा बेलायती सांसद टुलिप रिजवाना सिद्दिकलाई प्रत्येक मुद्दामा २–२ वर्ष गरी कुल ४ वर्षको जेल सजाय सुनाइएको छ। त्यस्तै, अजमिना सिद्दिकलाई एक मुद्दामा ७ वर्षको सजाय र रदवान मुजिब सिद्दिक (बोबी) लाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ।
अदालतले ३१ जना साक्षीको बयान लिएको थियो। भ्रष्टाचार निवारण आयोग (एसीसी) का सहायक निर्देशक अफनान जन्नत कियाले अन्तिम अभियोजन साक्षीका रूपमा बयान दिएका थिए।
भ्रष्टाचार निवारण आयोगले जनवरी १३, २०२५ मा १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो भने मार्च १०, २०२५ मा १८ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो। अदालतले जुलाई ३१, २०२५ मा अभियोग निर्धारण गर्दै सुनुवाइ सुरु गरेको थियो।
त्यसैबीच, पुर्बाचल परियोजनाअन्तर्गत १० कठ्ठा जग्गा प्राप्त गर्न अधिकार दुरुपयोग गरेको अर्को मुद्दामा पनि अदालतले फागुन २ मा फैसला सुनाएको छ।
बंगलादेशमा सन् २०२४ जुलाई मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि शेख हसिना भारतमा शरण लिइसकेकी थिइन्। त्यसपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भई उनलाई र उनका मन्त्रिपरिषद् सदस्यहरूका विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको थियो।

Leave a Comment