उर्लाबारी । नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको दौडभन्दा माथि उठेर जनजीवनसँग प्रत्यक्ष जोडिएको सेवा र जिम्मेवारीको विषयका रूपमा परिभाषित गरेका छन्।

उनी चुनावी प्रतिस्पर्धालाई व्यक्ति वा दल केन्द्रित बहसमा सीमित गर्नुको सट्टा यस क्षेत्रले भोग्दै आएका संरचनागत समस्या र विकासका अधुरा पूर्वाधारसँग जोड्नुपर्ने धारणा राख्छन्।

फागोले भने, ‘मेरो प्रतिस्पर्धा भनेको नै यस क्षेत्रको समस्या हो, विकासका पूर्वाधारको काम हो।’ उनका अनुसार मोरङ–१ का नागरिकले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र शहरी व्यवस्थापनमा अझै पनि स्पष्ट समाधानको अपेक्षा गरिरहेका छन्।

उनी मोरङ–१ लाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा सन्तुलित विकासको मोडेल बनाउन सकिने सम्भावना उल्लेख गर्छन्। तर त्यसका लागि योजना कार्यान्वयन र दीर्घकालीन सोच आवश्यक रहेको उनको भनाइ छ।

पूर्व जनप्रतिनिधिको अनुभवले आफूलाई व्यवहारिक राजनीति गर्न सिकाएको फागोले बताए। नीति निर्माण कागजमा आकर्षक देखिए पनि कार्यान्वयनको चुनौती स्थानीय तहमा प्रत्यक्ष अनुभव गर्दा महसुस भएको उनले बताए।

उहाँले युवाको वैदेशिक पलायनलाई गम्भीर समस्या भन्दै स्थानीय रोजगारी सिर्जना, कृषि उत्पादन र बजार सुनिश्चितता, गुणस्तरीय शिक्षापहुंचमूलक स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताए।

राजनीतिक संस्कारमा असहिष्णुता र गुटबन्दीले विकासलाई अवरुद्ध बनाउने र व्यक्तिगत प्रतिस्पर्धाभन्दा साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने उनको जोड छ।

नेपाली कांग्रेसको संगठनात्मक पुनर्संरचना अहिलेको चरणले कार्यकर्तामा नयाँ ऊर्जा थपेको फागोले दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख