Latest News
Kathmandu

बाजा बजाएको विषयमा विवाद : रौतहटको गौरमा अनिश्चितकालीन कफ्र्यू जारी

बाजा बजाएको विषयमा विवाद : रौतहटको गौरमा अनिश्चितकालीन कफ्र्यू जारी

रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ।

बौधिमाई नगरपालिका–९ सरमुजवाबाट बिहीबार राति आएको विवाहको जन्ती बाजा बजाउँदै सबगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडि अवरोध भएपछि विवाद सुरु भएको थियो। सो क्रममा जन्तीमाथि ढुंगा प्रहार हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए। गएराति पुनः भएको झडपमा ६ जना घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब चार–पाँच सयको भीड जम्मा भई पुनः झडप सुरु भएपछि र स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रशासनले कफ्र्यू लगाउने निर्णय गरेको हो। झडपका क्रममा उत्तेजित भीडले एक स्कार्पियो गाडीमा आगजनी समेत गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू लागू गरिएको छ। उनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय सम्म कफ्र्यू आदेश जारी गरिएको छ।

यो क्षेत्रभित्र अर्को आदेश नआउन्जेलसम्म कुनै पनि प्रकारको सभा, जुलुस, भेला, प्रदर्शन तथा आवतजावत गर्न पूर्ण निषेध गरिएको छ। स्थितिलाई थप बिग्रन नदिन प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न, अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दोलखामा अन्य दल त्यागेर कांग्रेसमा प्रवेश, अजयबाबु र कुन्दनले लगाए खादा–माला
पछिल्लो समाचार →
जय ट्रफी : पुलिसविरुद्ध आर्मीको जित

Leave a Comment

Your email address will not be published. Required fields are marked *