Latest News
Kathmandu

चिनियाँ नयाँवर्षमा ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य वृद्धि

चिनियाँ नयाँवर्षमा ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य वृद्धि

काठमाडौं । चीनको परम्परागत स्प्रिङ फेस्टिभल (चन्द्र नववर्ष) का अवसरमा यात्रु चाप बढेसँगै ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य रूपमा वृद्धि भएको छ । विशेषगरी साङघाइ र वरपरका तटीय गन्तव्यबीच हेलिकोप्टरमार्फत सञ्चालन हुने छोटो दूरीका उडानहरू लोकप्रिय बन्दै गएका छन् ।

सडक तथा फेरीमार्फत घण्टौं लाग्ने यात्रा अब करिब ३० मिनेटमै पूरा हुन थालेपछि यात्रुहरू समय बचतका लागि हवाई विकल्प रोज्न थालेका हुन् । साङघाइबाट शेङ्सी टापु सम्मको उडानमा यात्रुले पुडोङ, लिङ्गाङ, डोङहाइ पुल हुँदै खुला समुद्र पार गर्ने दृश्य अवलोकन गर्न सक्छन् ।

साङघाइ न्यूस्काइ हेलिकोप्टरका क्याप्टेन स्यु जियानजुन का अनुसार, ‘साङघाइबाट शेङ्सी टापुसम्मको उडान छोटो र सहज छ । आकाशबाट शहरको स्काइलाइन, डोङहाइ पुल र समुद्री दृश्य स्पष्ट देखिन्छ, जसले यात्रालाई विशेष बनाउँछ ।’

यात्रुहरूका लागि आकर्षण केवल दृश्य मात्र नभई समयको बचत पनि हो । बस र फेरीबाट घण्टौं लाग्ने यात्रा अब बिहान निस्केर दिउँसो फर्किन सकिने गरी छोटिएको छ । एक यात्रुले भने, ‘पहिले धेरै समय लाग्थ्यो, अहिले छिटो र सुविधाजनक भएकाले भाडा स्वीकार्य छ ।’

स्प्रिङ फेस्टिभल ट्राभल रशका क्रममा हवाई सेवाको बुकिङ सामान्य समयको तुलनामा करिब १.५ गुणा वृद्धि भएको उडान विभाग प्रमुख ली सिन ले जानकारी दिएका छन् । यात्रुले मिनी–प्रोग्राममार्फत अग्रिम बुकिङ गर्न सक्ने सुविधा पनि उपलब्ध छ ।

‘एयर ट्याक्सी’ सेवा अहिले याङ्त्से नदी डेल्टा क्षेत्र मा विकसित हुँदै गएको व्यापक यातायात प्रणालीको हिस्सा बन्दै गएको छ । चीनले प्रवर्द्धन गरिरहेको ‘लो–अल्टिच्युड इकोनोमी’ अन्तर्गत हेलिकोप्टर र साना हवाई साधनमार्फत छोटो दूरीका नियमित मार्ग विस्तार भइरहेका छन् ।

विशेषज्ञहरूका अनुसार चीनको लो–अल्टिच्युड इकोनोमी सन् २०३५ सम्म पाँच गुणाभन्दा बढी वृद्धि हुने प्रक्षेपण गरिएको छ । हाल करिब ९३ अर्ब अमेरिकी डलर बराबरको बजार सन् २०३५ सम्म ४८३ अर्ब डलर पुग्ने अनुमान छ ।

यद्यपि, हवाई सुरक्षा, उडान मार्ग व्यवस्थापन, हवाई क्षेत्रको समन्वय र मूल्य निर्धारणजस्ता विषय अझै नीतिगत बहसका विषय बनेका छन् । तर भीडभाडको समयमा छोटो दूरीको हवाई सेवा प्रभावकारी विकल्प सावित हुँदै गएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
पछिल्लो समाचार →
अमेरिका–इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *