काठमाडौं । इजरायलले पूर्वी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएका छन्। लेबनानी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल ले जनाएको छ कि आक्रमण इजरायली रक्षा बल (आईडीएफ) ले हिजबुल्लाहका कमाण्ड केन्द्रलाई लक्षित गरी गरेको हो।
यसैबीच, दक्षिणी लेबनानमा हमासका लक्ष्यविरुद्ध गरिएको छुट्टै ड्रोन आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ। नोभेम्बर २०२४ मा अमेरिका मध्यस्थतामा भएको युद्धविरामपछि यी आक्रमणहरू सबैभन्दा घातक मानिएका छन्।
आईडीएफले विज्ञप्ति जारी गर्दै बेकाआ उपत्यकाको बालबेक क्षेत्रमा हिजबुल्लाहको मिसाइल फोर्ससँग सम्बन्धित तीनवटा कमाण्ड सेन्टरमा प्रहार गरिएको जनाएको छ। सेनाले ती आक्रमणमा “धेरै संख्यामा अपरेटिभहरू” मारिएको दाबी गर्दै उनीहरू इजरायलविरुद्ध रकेट तथा मिसाइल आक्रमणको तयारीमा संलग्न रहेको आरोप लगाएको छ।
हिजबुल्लाहले भने आफ्ना आठ सदस्यको मृत्यु भएको पुष्टि गरेको छ। मृतकमध्ये हुसेन मोहम्मद यागी नामक एक “कमाण्डर” समेत रहेको बताइएको छ, जसले संगठनमा उच्च पद सम्हालेका थिए। हिजबुल्लाहले उनीहरू “बेकाआ क्षेत्रमा भएको विश्वासघाती इजरायली आक्रमणविरुद्ध लेबनान र जनताको रक्षा गर्ने क्रममा” मारिएको जनाएको छ।
बेइरुटमा आयोजित विरोध प्रदर्शनमा बोल्दै हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कामातीले आक्रमणलाई “नयाँ नरसंहार” को संज्ञा दिएका छन्। उनले “आफ्नो देश र जनताको रक्षा गर्न प्रतिरोध बाहेक अर्को विकल्प नरहेको” बताएका छन्।
आईडीएफले भने हिजबुल्लाहका मिसाइल फोर्सहरू सक्रिय रूपमा इजरायलविरुद्ध रकेट तथा मिसाइल आक्रमणको योजना बनाइरहेको र त्यो गतिविधि नोभेम्बर २०२४ को युद्धविराम सम्झौताको उल्लङ्घन भएको दाबी गरेको छ।
यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सिडोन नजिकैको ऐन अल–हिलवे प्यालेस्टिनी शरणार्थी शिविरमा गरिएको इजरायली ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ। आईडीएफले उक्त स्थल हमासको कमाण्ड सेन्टर रहेको दाबी गरेको छ।
हमासले भने उक्त आरोप अस्वीकार गर्दै लक्षित स्थल शिविरको संयुक्त सुरक्षा बलको कार्यालय भएको जनाएको छ, जसले शिविरभित्र सुरक्षा व्यवस्थापन गर्दै आएको बताइएको छ।
गाजा क्षेत्रमा जारी युद्धको पृष्ठभूमिमा इजरायलले हिजबुल्लाहलाई पुनः सशक्त हुन नदिन कारबाही जारी राखेको जनाएको छ।
सन् २०२३ अक्टोबर ८ देखि सुरु भएको दैनिक रकेट आक्रमण रोक्न इजरायलले दक्षिणी लेबनानमा स्थल आक्रमणसमेत गरेको थियो। त्यसपछि भएको दुई महिनाको खुला द्वन्द्व अन्त्य गर्दै नोभेम्बर २०२४ मा युद्धविराम सम्झौता भएको थियो।
– एएनआई

Leave a Comment