रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–६ मा बस दुर्घटना भएपछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं–खुर्कोट हुँदै मन्थली आउने–जाने बस सेवा रोक्दा स्थानीय सर्वसाधारण समस्यामा परेका छन्।
माघ २७ गते मन्थली नगरपालिका–६ लिलौटीमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए।
दुर्घटनापछि पीडित पक्ष र जिल्ला प्रशासन बीच माघ २८ गते मध्यरातसम्म चलेको वार्तापछि सहमति भए पनि मृतकका आफन्तले विभिन्न स्थानमा बस अवरोध गरेकाले प्रालिले फागुन १ गतेदेखि काठमाडौँ–खुर्कोट–मन्थली सडक खण्डमा बस सेवा बन्द गरेको थियो।
सेवा बन्दको असर:
-
ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकाम मन्थली तथा काठमाडौँ आउजाउ गर्न समस्या
-
सालु, साँघु टार, ओलखढुङ्गा लिखु क्षेत्र, धोबी, सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गा खिजिदेम्बासम्मका यात्रु प्रभावित
-
साना सवारी साधनले बढी भाडा असुल्ने, स्थानीय महँगो भाडा तिर्न बाध्य
कम्पनीले चौँरीखोला तथा सित्खा हुँदै रामेछापको दक्षिणी क्षेत्रमा सेवा निरन्तर चलाइरहे पनि मन्थली हुँदै उमाकुण्ड र गोकुलगंगा जाने सेवा रोकिएको छ।
स्थानीयले बताएका अनुसार पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने दायित्वबाट भाग्ने भन्दै कम्पनीले सेवा रोकेको हो। प्रतिनिधि सभा निर्वाचनको मुखमा सेवा अवरुद्ध हुँदा समेत स्थानीय प्रशासनले कडाइ नगरेको गुनासो स्थानीयमा छ।
नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, गैसस महासंघ, नेपाल उद्योग तथा व्यवसायी महासंघ लगायत संघसंस्थाले सेवा तत्काल सञ्चालन गर्न कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

Leave a Comment