वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले शान्ति–सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै शुक्रबार साँझ ४:३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, फागुन ११ गते बिहान ९:४५ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वदलीय बैठकको सहमति र सुरक्षा मूल्यांकनका आधारमा हटाइएको हो। प्रशासनले परिस्थिति क्रमशः सामान्य बन्दै गएको भन्दै कर्फ्यूलाई निरन्तरता दिन आवश्यक नदेखिएको जनाएको छ।
तर, अवस्था पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ। उक्त अवधिमा कुनै पनि प्रकारका भेला, आमसभा, जुलुस तथा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्र
-
पूर्व: बाइपास रोड
-
पश्चिम: रानीघाट पुल
-
उत्तर: पावरहाउस चोक
-
दक्षिण: घण्टाघर चोक
स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लंघन गर्ने जोसुकैलाई पनि ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। महानगरका संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको प्रशासनले जनाएको छ।


Leave a Comment