Latest News
Kathmandu

पाँच क्यासिनोलाई ८५ करोड रोयल्टी तिर्न सात दिने म्याद

पाँच क्यासिनोलाई ८५ करोड रोयल्टी तिर्न सात दिने म्याद

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८५ करोड रोयल्टी नबुझाएका पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै काठमाडौंका होटल याक एन्ड यती लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल), रक इन्टरनेशनल प्रालि, ह्याप्पी आवर प्रालि र सेन्ट्रल मिडिया प्रालिले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एन्ड यती लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) ले १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालिले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालिले २१ करोड ५५ लाख र सेन्ट्रल मिडिया प्रालिले १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।

गत ७ कात्तिकमा ३५ दिने सूचना र २७ पुसमा १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता भएको छ । यस पटकट सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले पत्राचार गरेको हो ।

यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम ब्यांक जमानत बसेपछि छाडिएको थियो । काठमाडौंको साङ्ग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख ब्यांक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।

क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड २० नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई १ माघ साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । क्यासिनोहरूले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही गर्ने पर्यटन मन्त्री आलेले चेतावनी दिएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सीमसारमाथिको अतिक्रमणले संकट
पछिल्लो समाचार →
पानीको मूल फुटाउने मन्त्रालयको अभियान !

Leave a Comment

Your email address will not be published. Required fields are marked *