निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

काठमाडौं । पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको बताएका छन्। नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको उल्लेख गरे।
‘किसानहरुले एउटा–दुईवटा सुन्तला, लिची वा तरकारी उत्पादन गर्छन्, तर ठूलो परिमाणमा बजारमा पु¥याउन सकिँदैन। त्यसैले त्यस्ता उत्पादनलाई बिक्री गर्ने उद्देश्यले पैंचो पसल सुरु गरिएको हो,’ उनले भने।
उनका अनुसार पैंचोको सुरुवात २०७२ सालमा गुल्मीको बलेटाक्सारबाट भएको हो। हाल गुल्मी, अर्घाखाँची र पाल्पामा मुख्य रूपमा कृषि कार्यक्रम सञ्चालन भइरहेको छ भने उत्पादन देशभर मेचीदेखि महाकालीसम्म उपलब्ध छ। साथै कोरिया, अमेरिका, जापान र दुबईसम्म निर्यात भइरहेको उनले जानकारी दिए।
पैंचोले कृषि उत्पादन, प्रशोधन र बजार व्यवस्थापन गर्दै १०० भन्दा बढी उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीसँग प्रत्यक्ष रूपमा करिब १२ हजार घरधुरी आबद्ध छन् भने झन्डै एक लाख जनसंख्या अप्रत्यक्ष रूपमा जोडिएको छ।
‘यी १२ हजार घरधुरीबाट वार्षिक झन्डै १० करोड रुपैयाँभन्दा बढीको उत्पादन खरिद गर्छौँ,’ न्यौपानेले बताए।
केही किसान वार्षिक ३०–४० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अवस्थामा पुगेको दाबी पनि उनले गरे। कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण भई आईपीओ प्रक्रियामा जाने तयारीमा रहेको छ। आगामी एकदेखि डेढ वर्षभित्र थप एक अर्ब रुपैयाँभन्दा बढी कृषि क्षेत्रमा लगानी गर्ने योजना रहेको उनले बताए।
हाल चिउरा, कर्नफ्लेक्स, ओट्स तथा गेडागुडीजन्य उत्पादनमा विस्तार भइरहेको र पोखरा, स्याङ्जा, तनहुँ, पाल्पा र बागलुङ क्षेत्रमा कार्यक्रम विस्तारको तयारी भइरहेको छ।
निजी क्षेत्रलाई ‘नाफाखोर’ भन्ने मानसिकता कृषि विकासका लागि बाधक
न्यौपानेले निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय बिना कृषि क्षेत्रको उन्नति सम्भव नभएको बताए। ‘सरकारले बजेट छुट्याए पनि साना किसानलाई व्यवसायिक कसरी बनाउने भन्ने स्पष्ट रणनीति अभाव देखिन्छ,’ उनले भने।
किसानहरूले मूल्य नपाउँदा सडकमा दुध र चिया पोखेर विरोध गर्नुपर्ने अवस्था आउनु कृषि बजार संरचनाको कमजोरी भएको उनको भनाइ छ।
उनका अनुसार नेपालमा उत्पादन भएको करिब ४० प्रतिशत उपज बिक्री नभई नष्ट हुने गरेको छ। ‘किसानले ३० रुपैयाँमा काउली बेचे पनि १० रुपैयाँ नाफा हुन्छ। तर बजारमा १०० रुपैयाँ देखेर आफू ठगिएको महसुस गर्छ,’ उनले विश्लेषण गरे।
उत्पादनभन्दा बजार व्यवस्थापनमा जोड दिनुपर्ने
कृषि नाफामा नजाने मुख्य कारण उत्पादन नभइ बिक्री प्रणाली कमजोर हुनु रहेको न्यौपानेको धारणा छ। ‘कृषिमा नाफा छैन भन्ने धारणा गलत हो, तर सानो परिमाणमा खेती गरेर परिवार धान्न सकिँदैन,’ उनले भने।
नेपालमा अझै ठूलो जनसंख्या कृषिमा निर्भर भए पनि किसानले दिगो आम्दानी निकाल्न नसकेको उल्लेख गर्दै उनले औद्योगिक प्रोसेसिङ उद्योग गाउँमै स्थापना गर्नुपर्ने सुझाव दिए।
प्राविधिक जनशक्तिको अभाव अर्को चुनौती
कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव पनि मुख्य चुनौतीको रूपमा देखिएको छ। कृषि पढेका युवाहरू सरकारी जागिरतर्फ लाग्ने भएकाले उत्पादनमा दक्ष जनशक्ति कमी भएको उनले बताए।
पैंचोले किसानलाई प्राविधिक तालिम, बाइब्याक ग्यारेन्टी, उत्पादनपूर्व जोखिम अध्ययन तथा दीर्घकालीन बजार सुनिश्चितता प्रदान गर्दै आएको जनाएको छ।
बारीदेखि थालीसम्मको ‘इकोसिस्टम’ विकास
पैंचोले नेपाली कृषि क्षेत्रमा समग्र ‘इकोसिस्टम डेभलपमेन्ट’ मोडल लागू गर्दै आएको दाबी गरेको छ। न्यौपानेका अनुसार कम्पनीले किसानलाई बारीदेखि उपभोक्ताको थालीसम्म जोड्ने एकीकृत संरचना विकास गरेको छ।
‘१ केजी उत्पादन गर्ने किसान होस् वा १००० केजी उत्पादन गर्ने, हामी बाइब्याक ग्यारेन्टी गर्न सक्छौँ,’ उनले भने।
कम्पनीले टमाटरबाट केचप, पहाडी फलफूलबाट जाम तथा अचार उत्पादन गर्दै आएको छ। आफ्नै फलफूल तथा तरकारी प्रशोधन केन्द्र, खाद्य अनुसन्धान केन्द्र र कृषि उत्पादन अनुसन्धान केन्द्र रहेको जानकारी दिइएको छ।

Leave a Comment