काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन्।
उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले भने, ‘विगतका अन्य चुनावभन्दा यो निकै महत्वपूर्ण छ। त्यसकारण अहिलेको परिस्थितिलाई हेर्दा म अलिक भावुक पनि भएँ,’ लामिछानेले भने, ‘यो ऐतिहासिक हुन्छ भन्ने अपेक्षा गरेको छु।’
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन्। तर उनको मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर ३ मा रहेकाले उनले सोही मतदान केन्द्रबाट मतदान गरेका हुन्।
देशभर आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

Leave a Comment