रौतहट । मधेस राजनीतिको केन्द्र मानिने रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी भारी मतान्तरसहित विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चौधरीले २८,९४६ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तालाई १८,२५३ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्। गुप्ताले केवल १०,६९३ मतमा चित्त बुझाउनु परेको छ।
यो निर्वाचन परिणामले रौतहटको पुरानो राजनीतिक विरासत पूर्णतः उथलपुथल गरिदिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपाको सह–संयोजक माधवकुमार नेपाल यसपटक अप्रत्याशित हार व्यहोरेका छन्। ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका नेपाल ७,६६९ मत प्राप्त गर्दै चौथो स्थानमा खुम्चिएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका हेभीवेट नेता अनिलकुमार झा पनि पराजित भएका छन्। उनले ८,५७४ मत ल्याएर तेस्रो स्थान हासिल गरे। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार योगेन्द्र राय यादव ले छाता चिन्हबाट ६,८४६ मत मात्र प्राप्त गरे।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार रौतहटमा दशकौंदेखि स्थापित पुराना दल र नेताहरूप्रतिको वितृष्णा र ‘परिवर्तन‘ को चाहनाले गर्दा रास्वपाका नयाँ अनुहार चौधरी लाई मतदाताले रोजेका हुन्।
मधेसमा रास्वपाको यो उदय आगामी राजनीतिको नयाँ संकेतका रूपमा हेरिएको छ।
विजयी भएलगत्तै चौधरीले भने:
“यो जित मेरो होइन, रौतहटवासीको हो। अब क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्नेछु।”

Leave a Comment