युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सन् २०१९ सेष्टेम्बरको एक सॉंझ मित्र रामकुमारले एउटा फोटो फेसबुकको मेसेन्जरमा खसाल्दिए । २०६४ भदौको त्यो फोटोले हाम्रो रमाइलो विगततिर फर्कायो । फोटो थियो, इन्जिनियरिङ्ग साहित्यिक समाज (इन्सास) नेपालको वार्षिक कार्यक्रमको । फोटो देख्नासाथ मेरो पहिलो नजर ब्यानरमा गयो । ब्यानरमा लेखिएको थियो, ‘मञ्जरी विमाेचन, इन्सास पुस्तकालय समुद्घाटन तथा प्राविधिक स्रष्टा सम्मान कार्यक्रम’ ।

२०५८/५९ तिर पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा अध्ययनरत केही साहित्यप्रेमी साथीहरूलाई साथ लिएर विजयराज भट्टराईको अध्यक्षतामा स्थापित संस्था हो इन्सास । २ वर्ष जति निकै सक्रिय संस्था विजयराजहरू अध्ययन सकेर निस्केसँगै २ वर्ष जति निष्कृय रहेको थियो । पुल्चोक क्याम्पसमा मात्र सीमित संस्था २०६२ साल पुसमा पुर्नगठन गरी देशव्यापी फैलाइएको थियो । जसमा उपत्यकाको सबैजसो इन्जिनियरिङ्ग क्याम्पस तथा पोखरा र धरान क्याम्पस पनि समावेश गरी केन्द्रीय समिति बनाइयो । साथमा स्थानीय रूपमा क्याम्पस समितिहरू गठन गरिएको थियो । यसरी गठन गरिएको पहिलो केन्द्रीय कार्यसमितिदेखि नै सहभागी भएर काम गरेको थिएँ ।

विस्तारित कार्यसमितिको दोस्रो कार्यालयमा केन्द्रीय महासचिवको रूपमा केही नयॉं शुरूवात गर्ने अवसर मिलेथ्यो । त्यही नयॉं काममध्येको एक थियो, इन्सास पुस्तकालय । यसअघि झोलामा कागजपत्र र क्यान्टिन छेउको चौरमा बैठक बस्दै आएका थियाैँ हामी । पुल्चोक क्याम्पसका अध्यापक प्रशान्त घिमिरे सरको सहयोगमा क्याम्पसभित्रको एउटा कोठा अफिसको लागि उपलब्ध भयो । साहित्यकार पिताम्बरा उपाध्याय ‘पीयूष’ले आफ्नो जीवनकालभरि संकलन गरेका करिब सात हजार पुस्तक र पत्रिकाको संरक्षण गर्ने संस्था खोज्दै हुनुहुन्थ्यो । प्रशान्त सरको आमा हुनुको नाताले इन्सास र हामीसँग व्यक्तिगत रूपमा नजिक हुनुहुन्थ्यो । उहॉंकै सौजन्यमा इन्सास पुस्तकालय स्थापना गर्न सकेका थियाैँ। इन्सासले वार्षिक रूपमा २ जना साहित्यिक व्यक्तिहरूलाई सम्मान गर्ने प्रचलन थियो, प्राविधिक स्रष्टा सम्मान भनेर । इन्जिनियरिङ्ग विषय अध्ययन गरी साहित्यमा पनि सक्रिय युवा पुस्ता र बरिष्ठ सर्जकलाई ।

पुस्तकालयको समुद्घाटन सहितका अरू कार्यक्रम थियो यो । फोटोमा प्रमुख अथिति तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री एवं पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसकी पूर्व अध्यापिका हिसिला यमी हुनुहुन्थ्यो । सम्मानित हुने बरिष्ठ स्रष्टा हरिगोविन्द लुइँटेल र युवा स्रष्टा शर्मिला पोखरेल सहित कार्यक्रम सञ्चालक म र सभापति रामकुमार श्रेष्ठ थियाैँ ।

यिनै पूर्व स्मृति कोरेर सो फोटो फेसबुकमा पोष्ट गरेँ । फेसबुकको यो फोटोले तत्कालीन समयमा सँगै अध्ययन तथा सहकार्य गरेका सबैलाई विगतमा पुर्यायो । सबैले इन्सास सँगको आफ्नो संग्लनता सम्झेर कमेन्ट गरे । खड्ग सेन ओली दाइले ‘इन्सासको शुरूवाती दिनहरूको झल्कोले रोमाञ्चित भइयो । बडो ऊर्जाशील थिए अगुवा साथीहरू । अहिले पो इतिहास भो । भनेर लेख्नु भो । विजय भट्टराई दाइले लेख्नुभो, ‘धेरै दुःख मिहेनतले स्थापना गरेको संस्थाको स्मृतिले भावुक बनायो । साथै हामीले शुरू गरेको अभियान अझै बढी ऊर्जा सहित अगाडि बनाउने तपाईंहरूलाई धेरै धन्यवाद ।’

कति जनाले चाहिँ त्यति ‘चार्म’ बोकेको संस्था कता हरायो भनेर लेख्नु भो । हुन पनि हामी पढ्ने बेलातिर इन्सासमा सहभागिता गज्जबको हुने गर्थ्यो । इन्जिनियरिङ्ग क्षेत्रभित्र र बाह्य साहित्यिक जगतमा सबैले महत्वका साथ सम्झन्थे संस्थालाई ।

फेसबुकमा पुराना साथीहरू र दाजुहरूले कमेन्ट गर्दा सबै नोस्टालिक बन्यौँ । त्यसपछि तुरुन्तै विजय दाइले मेसेन्जरमा इन्जिनियरिङ्ग साहित्यिक समाज (इन्सास) नेपाल भनेर समूह बनाउनु भो । समूहमा इन्जिनियरिङ्ग संकायका पूर्व डीन एवं नाष्टका पूर्व उपकुलपति महाकाव्यकार डा. जीवराज पोख्रेल देखि इन्जिनियरिङ्ग अध्ययनरत कवि मोहित जोशीसम्मका नयॉं पुराना लेखकहरू जोडिनु भयो । यस समूहमा संस्था स्थापनादेखिका अनुभव र अनुभूतिहरू साटासाट हुन थाल्यो । समूहका सदस्यहरूको नयॉं प्रकाशित पुस्तक होस् वा गीतको भिडियो । ती सबैका विषयमा कुरा हुन थाले । त्यही समूहमा एउटा नयॉं काम थालौँ भनेर केही पटक केही प्रस्ताव माथि छलफल नभएका हैनन् । सायद २०१९ डिसेम्बर अघि नै कुसुम ज्ञवाली दाइले एउटा अनलाइन सञ्चालन गर्ने विषय उठाउनु भएको थियो । जुन आनलाइन पूर्णतः साहित्यिक अनलाईन होस् । दीपक कथित, खड्ग सेन ओली दाइहरू लगायतसँग केही चरण छलफल भयो । अनलाइनको केही मोडलबारे पनि थोरै चर्चा गरेका थियाैँ । पछि यो कुरा यसै सेलायो ।

२०२० को जनवारीमा उत्तर अमेरिकामा बसोबास गर्ने २४ कथाकारहरूले यतैको विषयवस्तुमा लेखेका कथाको सँगालो ‘परदेशका कथा’ पनि सम्पादन/प्रकाशन गरेको थिएँ ।

त्यो पुस्तक प्रकाशन पछि विजय दाइसँग कुरा हुँदा इन्सासको साथीहरू मिलेर केही काम गरौँ न भन्नुहुन्थ्यो । हुन त हामी इन्सासकालीन समयदेखि जोडिएका स्रष्टाहरूको सहकार्यमा पुस्तक प्रकाशन पनि गरिआएका थियाैँ । २०६३ मा दशजना इन्जिनियर कविहरूको संयुक्त कविता संग्रह ‘अञ्जुलिमा अभियन्ता’ र २०७३ मा संयुक्त गजलसंग्रह ‘अञ्जुलिमा अभियन्ता-२’ प्रकाशित गरिसकेका थियाैँ । यही सिलसिलाको निरन्तरतामा केही नयॉं काम गरौँ भन्ने विजयराज भट्टराईको प्रस्ताव थियो ।

त्यसलगत्तै कोरोना कहरमा परियो । विश्व नै ठप्प भए जस्तो । सबैकुरा रोकिए । जागिर अफिस नगइ घरैबाट । बाहिर निस्कन पनि डराइमर्दो बेला । सातै दिन चौबिसै घण्टा घरमै बस्दा परिवार साथीभाइहरूसँग नियमित हालखबर सोध्ने । कोरोना प्रभाव बुझ्दै गर्दा पहिलो एक-दुई महिना डरैडरमा बित्यो । त्यसपछि अप्रिलतिर पछि बानी पर्न थाल्यो । अफिस नजाने । बाहिर कतै नजाने । सधैं घर बस्ने भएपछि समय पर्याप्त हुनथाल्यो । अब यो समय केही साहित्यिक काममा लगाउँ भन्ने सोच थियो ।

एकदिन शनिबार के मुड चल्यो कुन्नी विदेशमा रहेका इन्जिनियरहरू बारे बुझ्न मन लाग्यो । यत्तिका धेरै नेपाली इन्जिनियरहरू नेपाल बाहिर आएका छौँ/रछन् । पुल्चोक पढ्दाका साथीहरू नेपालमा भन्दा बढी यता अमेरिकामा भेटिन्छन् । यतिसम्म कि तात्कालीन समयमा मैले काम न्यू जर्सी राज्यको सडक विभागमा १० नेपाली इन्जिनियर थियाैँ । त्यसमा पनि धेरै त मेरो ब्याच वरपरका नै ।

यसरी विदेशमा आइपुगेका इन्जिनियरहरू विदेशीनुको सन्दर्भ जान्न मन लाग्यो । साथै नेपालमा एउटा करिअर बनिसकेर वा बन्ने क्रमको मान्छेले त्यी कुरा चटक्कै छोडेर आउँदा नयॉं परिवेशमा आफूलाई कसरी अगाडि बढायो भन्ने कुरा जिज्ञासा भयो । एकदुई दिन आफैले मात्र सोचिबसेँ । यदि यो कुरा संस्मरणमा समेट्न पाइयो भने त फरक खालको राम्रै पुस्तक बन्छ कि जस्तो लाग्यो । तर संस्मरणमा कति कुरा समेट्ने भन्नेमा यकिन थिइन । एउटा मन थियो विदेशमा रहेको समयको पुरै संस्मरण समेटौँ । फेरि सोचेँ सबै कुरा एउटैमा समेट्न शब्द सीमाले पनि नदेला । शब्दसीमामा रहेर लेख्न खोज्दा सबैकुरा राम्ररी नसमेटिएला । त्यसैले विदेशीनको लागि नेपाल एअरपोर्ट छोड्ने बेलादेखि विदेशमा आएका शुरूवाती दिनका संघर्ष र सपना के कस्तो रह्यो भन्ने जति समेटेर संस्मरण लेख्न लगाउने सोचलाई आफ्नो योजना बनाएँ ।

अप्रिलको मध्यतिर विजयराज भट्टराई, कुसुम ज्ञवाली, सतिश त्रिपाठी, केशवराज ज्ञवाली र म सहित पॉंच जनाको फेसबुक समूह बनाएँ । र त्यहॉं आफ्नो योजना सुनाएँ। सबैको आ-आफ्नै कथा व्यथा हुन्छन् । चाहे इन्जिनियर होस् वा अरू गैर इन्जिनियर । यो पुस्तकचाहिँ हामी अहिले कहॉं के गर्दैछौँ भन्दा पनि मूलतः विदेश आउनुको सन्दर्भ, तात्कालिक मनोदशा, मानसिक र पेशागत अन्तर्द्वन्द्व साथै विदेश आइसकेपछिको शुरूवाती अनुभवहरूको संकलन होस् ।

मेरो प्रस्तावमा सबैजना उत्साहित हुनुभयो । केही फरक फरक विचार पनि आए । जस्तो विदेश आएर इन्जिनियरिङ्ग क्षेत्रमा धेरै नै सफल भएका इन्जिनियरको सफताको कथा समेट्ने । वा हाम्रै अहिलेसम्मकै भोगाइ समेट्ने लगायतका कुरा । तर अन्त्यमा चाहिँ छलफल मैले गरेको प्रस्तावको मोडेलमा केही संशाेधन गरेर काम गर्ने निर्क्योलमा पुग्यो ।

दाजुहरूसँगको कुराकानी पछि विदेशमा रहेर लेखिरहेका केही इन्जिनियर लेखकहरूको नाम प्रस्ताव गरेँ । केही नाम उहॉंहरूले थप्नु भयो । यसरी २६/२७ जनाको लिष्ट तयार गर्यौं । रचना माग्नको लागि औपचारिक चिठी ड्राफ्ट गरियो । सो चिठीमा हामीले संस्मरणमा आउनु पर्ने कुरालाई स्पष्ट पारेर छुटाउनै नहुने कुराहरू भनेर केही बुँदाहरू समावेश गर्यौं । शब्दसंख्या तोकियो २००० देखि ३००० सम्म ।

यति काम भएपछि हामीले तयार गरेको लिष्टका लेखकहरूलाई सम्पर्क गर्न थालियो। मैले इन्जिनियरको रूपमा भन्दा पहिला लेखकको रूपमा चिनेका दाजुहरू डा. मधु माधुर्य, नगेन्द्र न्यौपाने र जीवा लामिछाने फाेन गरेँ । दरबार बाहिरकी महारानी जस्तो चर्चित उपन्यासका स्रष्टा नगेन्द्रलाई भर्खरै प्रकाशित परदेशको कथाहरू मा पनि समेटेको थिएँ । उहाँसँग यो पुस्तकको योजना बताउँदै लेख माग्दा उहॉं पनि खुसी हुनुभो । र दिएको समयसीमा भित्र लेख पठाउने प्रतिबद्धता देखाउनु भो । जीवा लामिछाने जो दुइ चर्चित नियात्रासंग्रहका लेखक हुनुहुन्छ । उहॉं झन् बढी उत्साहित पाएँ । पहिलो कुरारानीमै आफ्नो लेखका साथै अन्य आवश्यक सहयोगको लागि आफू तयार रहेको कुरा बताउनु भयो । यसरी ५ जनाको हाम्रो सम्पादन र व्यवस्थापन समूह सहित ३/४ जना अग्रज लेखकहरूको साथ पाउने पक्का भयो । र सबैलाई चिठी पठायौँ, ३ महिना भित्र रचना पठाउन अनुरोध गरेर ।

तीन महिनामा १२/१३ वटा मात्र रचना संकलन भयो । केही स्रष्टाहरूले आफू सहभागी हुन चाहेको र केही थप समय अपेक्षा गरेर मेसेज गर्नु भो । गजल कविता मात्र लेखिरहेका केही सर्जकहरूले गद्य लेख्न कठिन भो भन्नु भो । हामीले छानेका मध्येका २/३ जनाले चाहिँ आफ्नो व्यक्तिगत कुरा बाहिर ल्याउन नखोजेको संकेत गर्नु भो । यसरी ५ महिनाको अवधिमा १९ वटा रचना प्राप्त भयो । सबै रचना पढेर हामीले खोजेको ढॉंचामा भए नभएको हेरियो । हामीले चाहेजस्तो ढॉंचामा नरहेका धेरैजसो रचनालाई प्रतिकृया सहित पुनःलेखनको लागि अनुरोध गरियो । सबैले झर्को नमानी फेरि लेखेर पठाउनु भयो । केही धेरै नै लामा रचनालाई भने हामीले नै सम्पादन गरेर सम्बन्धित स्रष्टासँग अनुमति लियौँ । दुईवटा रचना भने हाम्रो मापदण्ड भन्दा धेरै नै फरक आयो । फेरि लेख्न अनुरोध गरियो पनि तर त्यो हामीले खोजे अनुसार आउन सकेन र जम्मा १७ वटा फाइनल गरियो ।

पुस्तकमा ऋषिराम पराजुली (बेलायत), कुसुम ज्ञवाली (क्यानडा), कृष्ण कुसुम (अमेरिका), केशव शर्मा (अष्ट्रेलिया), केशवराज ज्ञवाली (अमेरिका), गोविन्दप्रसाद गौतम (रसिया), जीवा लामिछाने (जर्मनी), प्रमोद अमात्य (अमेरिका०), नगेन्द्र न्यौपाने (अमेरिका), विजयराज भट्टराई (अमेरिका), मधु माधुर्य (अमेरिका), मनोज कार्की (अमेरिका), राजन महर्जन (अमेरिका), सतिश त्रिपाठी (अमेरिका), सन्तोष न्यौपाने (अमेरिका), शर्मिला पोख्रेल (क्यानडा) र सुशील ताम्राकार (अमेरिका) समावेश हुनुहुन्छ ।

योजना र व्यवस्थापनको काम हामी ५ जना नै भएर छलफल गरेर टुंङ्ग्यायौं । सम्पादनको काम भने अरू तीन जनाको समय अभावको कारण केशव ज्ञवाली र मैले जिम्मा लिएर सक्यौँ । कन्टेन्ट सम्पादनपछि भाषा सम्पादनका लागि महेश कार्की क्षितिजको सहयोग लिइयो । शिखा प्रकाशनका पुष्पराज पौडेलजीले यो पुस्तकको योजना बन्दादेखि नै प्रकाशन गर्न तयार रहेको कुरा गर्नुभएको थियाे । रचना संकलन, सम्पादन र प्रकाशक आदिको निर्क्योल भैसकेको थियो । तर कोरोनाको दोस्रो लहरले नेपालमा बेस्सरी असर गरेकोले र हाम्रो व्यक्तिगत व्यस्तताले प्रकाशन रोकिइराखेको थियो । यसै पुस्तकका सम्पादक मध्येका एक सम्पादक केशवजी आफ्नो कथासंग्रह प्रकाशनको सन्दर्भमा डिसेम्बर २०२१ मा नेपाल जाने हुनुभो । त्यति मौकामा यो पुस्तक पनि डिसेम्बर २४ मा प्रकाशन गर्ने चॉंजोपॉंचो मिलायौँ । धेरै माथापच्चीपछि पुस्तकको नाम राख्यौँ, ‘ऑंगन छोडेपछि’ ।

एउटै पुस्तकमा समावेश भएका सबै सदस्यहरूबीच परिचय गराउने र किताब प्रकाशन बारे अपडेट गर्ने योजना बन्यो । र सोहि अनुरुप डिसेम्बर ४ मा जुम भेला सम्पन्न गर्यौं । भेलामा २ जना बाहेक सबैजनाको उत्साहजनक उपस्थिति रह्यो । भेलामा जीवा सरले यो कामपछि अरू पनि यस्ता प्रकारका कामहरूको निरन्तरताका लागि संस्थागत रूपमै अगाडि बढ्नको लागि प्रस्ताव गर्नुभयो । सोही प्रस्तावअनुरूप अहिले इन्सास इन्टरनेसनल संस्था मार्फत जाने प्रकृया अगाडि बढेको छ ।

भेला सकिएको २/३ दिनपछि पुस्तक आवरण तयार भयो । पुस्तकमा सहभागी सबैजसो लेखकहरूले महत्व साथ सेयर गर्नुभयो । जब यसको कभर फोटो र विमोचनको खबर सेयर भयो । त्यसपछि साहित्यिक सर्कल र इन्जिनियरिङ्ग सर्कल दुबैतिरबाट किताबको खोजी जसरी भैराखेको छ त्यसले धेरै नै खुसी मिलेको छ । साथै पाठकीय प्रतिकृया कस्तो आउला भनेर डर पनि उत्तिकै बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख