Latest News
Kathmandu

एमसीसी टेबल गर्ने तयारी, काठमाडौँ ‘हाइ अलर्ट’मा

एमसीसी टेबल गर्ने तयारी, काठमाडौँ ‘हाइ अलर्ट’मा

काठमाडौँँ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी आज संसदमा टेबल गर्ने तयारी भइरहँदा काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसी विरोधी गतिविधि हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले मकालुखबरलाई जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म अवस्था शान्तिपूर्ण छ । एक जना पनि पक्राउ परेको छैन । तर हामी सम्भावित सुरक्षा खतराबारे अलर्ट छौँ । प्रहरी परिचालित भएको छ । गस्ती बढाएका छौँ ।’

यस्तै आज हुने कुनै प्रदर्शन वा अन्य कार्यक्रमहरूको औपचारिक जानकारी प्राप्त नभएको उनले बताए । आज बिहान कलंकीमा भेटिएको शंकास्पद वस्तु नुनको पोका र खाली कुकर रहेको भन्दै उनले यस्ता प्रकारका भ्रममा परेर त्रसित नहुन पनि आग्रह गरेका छन् ।

एमसीसी संसदमा टेबल गर्ने नगर्नेबारे अहिले केही बेरमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुँदैछ । । बिहीबारको बैठकमा सहभागी नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

बैठकमा प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्‌मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा नेकपा (माओवादी केन्द्र)का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए ।

आजको बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्‌मा टेबल गर्ने/नगर्ने विषयमा निर्णायक हुनेछ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ ।

यसैबीच प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आज बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको हो । समितिको बैठकले प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । बैठकमा सभामुखसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी हुन्छन् ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको संसदमा एमसीसी सम्झौता टेबल हुने बुझिएको छ । यसबारे सरकारले तीव्र पहल गरिरहेको छ । यता सत्ता गठबन्धनमा एमसीसीलाई लिएर खटपट चलिरहेका बेला प्रधा नमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद बढाएका छन् ।

बिहीबार दिउँसो आफू निकट पार्टीका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पठाएका प्रधान मन्त्री देउवाले राति नै आफूले समेत भेटवार्ता गरेका छन् ।  सरकारमा रहँदा एमसीसीका पक्षधर मानिएका अध्यक्ष ओलीसँग सहकार्य गरी संसदबाट एमसीसी पास गर्ने दाउमा प्रधान मन्त्री देउवा देखिन्छन् । यद्यपि हिजोको भेटवार्तामा के के विषयमा कुुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रकाशमानलाई भेटेर फर्किए प्रधानमन्त्री
पछिल्लो समाचार →
चन्दा उठाउन भूमिगत समूहको नाममा झापामा नक्कली बम आतंक

Leave a Comment

Your email address will not be published. Required fields are marked *