Latest News
Kathmandu

एक महिनाभित्र अम्बे स्टिल्सले ३५ मेगावाट विद्युत् पाउने

एक महिनाभित्र अम्बे स्टिल्सले ३५ मेगावाट विद्युत् पाउने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टिल्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ ।

उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत पुर्‍याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिना भित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट विद्युत् दिन लागेको हो ।

उद्योगसम्म विद्युत पुर्‍याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्‍याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरुलाई विद्युत आपूर्ति दिन निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टील्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत आफूर्ति लिने गरी आफूले गर्नु पर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।

‘विद्युत खपत बढाउन उद्योगहरुलाई मागेजति विद्युत दिइरहेका छौं, औद्योगिक करिडोरमा विद्युत खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने,’अम्बे स्टील्स्ले विद्युत जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको देखिएको छ, उद्योगले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत आपूर्ति दिन सकिन्छ, हाम्रोतर्फबाट कुनै समस्या छैन ।’

उनले अम्बे स्टील्स् सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुन लागेकोले त्यहाँ १३२ केभीको सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । एसियाली विकास बैंकसँग सहुलितपूर्ण ऋण सम्झौता भइसकेको छ ।

अहिले रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सबस्टेसनमार्फत आगामी दिनमा उद्योगहरुलाई विद्युत आपूर्ति दिइने छ ।

‘खपत बढाउन र आन्तरिक रुपमा खपत गरेर जगेडा हुने विद्युत भारतमा बिक्री गर्न सकेनौं भने वर्खामा दैनिक करिब पाँच सय मेगावाट विद्युत खेर फाल्नु पर्ने भयावह अवस्था आयो भने के होला ? त्यसैले ठूला उद्योगमा विद्युत खपत बढाउन केन्दि्रत हुनपर्छ’, कार्यकारी निर्देशक घिसिङले भने,’यसका लागि औद्योगिक करिडोरहरुमा विद्युत आपूर्तिका लागि विद्युतीय संरचनाको पूर्वाधार निर्माण योजनावद्ध रुपमा अगाडि बढाएका छौं ।’

कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति विद्युत दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सर्फमर थप गर्ने योजनाअनुरुप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए ।

प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा-पर्सा क्षेत्र, भैहरवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
खुसी दियो क्रिकेटले
पछिल्लो समाचार →
आरूका फूलले ढकमक्क रूपवती शहर

Leave a Comment

Your email address will not be published. Required fields are marked *