युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

दाङ । घोराहीको उत्तरी भेगमा सुक्खा र उराठलाग्दा पहाड ठडिएका छन् । पहाडको काखैमुनि छन् वैराग लाग्ने केही गाउँ । त्यही गाउँ मुनि काला चट्टानले भरिएका ५०० मिटर गहिरा कोइलाखानी छन् । २५ वर्षयता पहाड मुनि खनिएका कोइलाखानीका सुरुङले गाउँको पेट मात्र भरेको छैन, कालापत्थरसँग सिंगो गाउँको जीवन र जवानी साटिएको छ ।

दाङ र रोल्पाको सीमा जोड्ने यी पहाडले यहाँका गाउँको दुःख र वेदनाको कथा बोकेका छन् । हिउँदको एक बिहान, सधैं झंै कुहिरोले गमक्कै ढाकेको छ यो गाउँ । घोराही उपमहानगरपालिका–१९ सैघाका यमबहादुर घर्तीले कोइलाखानीको डिलमा उभिएर आफ्नो उमेरको हिसाब गरे ।

‘१४ वर्षको छँदा कोइलाखानीमा काम गर्न छिरेको अहिले म ४४ वर्षको भएँ । आधा जीवन त खानीमै बितेछ’, २० वर्ष सुरुङभित्रको काममा बिताएका घर्तीको बाँकी जीवन पनि यसैगरी बित्ने अनुमान छ । लामो सास तानेर उनले भने, ‘जिन्दगी कोइलाखानीले नै खानेभयो ।’

हुन पनि जीवनभर उनी कोइलाखानीको अँध्यारोभित्र काला पत्थर फोडिरहे । जोवन र बैंसका दिनहरू कोइलासँग साटे । बाहिरी संसारबाट बेखबर रहे । अहिले पनि उनी गहिरा सुरुङको अँध्यारोभित्र हरेक दिन कोइला खन्ने र निकाल्ने काम गरिरहेका छन् । यो दुःखबाट छुट्कारा पाउने कुनै संकेत छैन ।

उल्टै कान्छो छोरा पूर्णबहादुर घर्ती बुवाको पछि लागेर सुरुङभित्रै काम गर्न आइपुगेका छन् । १६ वर्षको छोरा आफ्ना दुःख पछ्याउँदै आएको देखेर उनको मन खिन्न हुन्छ । ‘कतै यसको जीवन पनि आफ्नो जस्तै कोइलाखानीमै बित्ने त होइन ?’ उनी आफ्नो कलिलो छोराको मुहारमा आफ्नो अनुहारको झल्को देख्छन् ।

यमबहादुर र उनको छोराको यो दृष्टान्त दाङको घोराही र रोल्पाको सिमानामा रहेका खानी आसपासका राम्चे, तिर्साङ, तोस, सैघा, बोल्दी, बजारपानी, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामिरे, भुल्केलगायत गाउँको कथा हो ।

यहाँका अधिकांश मानिस बिहान कोइलाखानीमा पुग्छन् । घाम समेत राम्रोसँग देख्न नपाउँदै उनीहरू २५० मिटर गहिरो सुरुङभित्र पस्छन् । ‘खन्ती र हथौडाका भरमा भित्र छिरेर ढुंगा र चट्टान काट्दै कोइला निकाल्ने हो’ तोस खानीका ४५ वर्षीय टोपबहादुर घर्ती मगर भन्छन्, ‘कतै निहुरिएर त कतै बसेर कोइला खन्नुपर्छ, जहाँतहीं खन्दा सुरुङ भत्किने जोखिम हुन्छ ।’

खानीभित्र बाटो हुँदैन, चट्टान र ढुंगा फोड्दै बाटो बनाउँदै अघि बढ्नुपर्छ । हथौडा र खन्तीले हानेर बनाएका बाटो निकै साना र अप्ठ्यारा हुन्छन् । एक पटकमा एक जना मानिस मुश्किलले छिर्न मिल्छ । ‘सुरुङभित्रको बाटो साह्रै साँघुरो, उकालो र ओरालो हुन्छ । निहुरिएर घुँडा टेक्दै हिंड्नुपर्छ’ उनी भन्छन्, ‘भित्र निस्पट्ट अँध्यारो हुन्छ, दिन र रात छुट्याउन सकिंदैन ।’

हावा समेत राम्रोसँग नछिर्ने गहिरा सुरुङभित्र हथौडा र खन्ती चलाउन सजिलो हुँदैन । ‘पहिलो पटक छिरेको मान्छे त निसासिएर मर्ला झैं हुन्छ’ मगरले भने, ‘हावा नछिर्दा सुरुङभित्र उकुसमुकुस पनि हुन्छ ।’ त्यसमाथि कोइला खन्दाखन्दै कतिबेला सुरुङ भत्किन्छ भन्ने पत्तो हुँदैन । सुरुङ भत्कियो वा ढुंगा खस्यो भने मजदुरहरूको ज्यान जान सक्छ । मगरकै शब्दमा ‘कोइलाखानीभित्र पस्नु जीवन र मृत्युसँग खेल्नु जस्तै हो ।’

सुुरुङभित्र विभिन्न बाटा बनाइएका भए पनि पस्ने र फर्कने मूलबाटो एउटै हुन्छ । कहींकतै माटो खसेर सुरुङको बाटो बन्द भयो भने यी श्रमिकको जीवनको बाँकी बाटो पनि बन्द हुन्छ । सँगै सुरुङभित्र छिरेका एक साथीले ज्यान गुमाए पनि टोपबहादुरले बाध्यताले अहिले पनि यो काम छोड्न सकेका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख