Latest News
Kathmandu

तीन जना शिक्षकबाट कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीमाथि नियमित यौन दुव्र्यवहार

तीन जना शिक्षकबाट कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीमाथि नियमित यौन दुव्र्यवहार

मकवानपुर । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरुलाई सोही विद्यालयमा अध्यापनरत ३ जना शिक्षकहरुमाथि लागेको आरोपको छानविन गर्न मकवानपुराका मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

शिक्षकहरुको व्यवहारमाथि कारवाहीको माग गर्दै मंगलबार विद्यार्थीहरु तोडफोडमा उत्रेपछि बुधबार जिल्लाका अधिकारकर्मीहरु स्थलगत अध्ययनमा गएका थिए । विद्यालयका शिक्षकहरु रुद्रबहादुर बिक, हेमबहादुर बिक, र लोकबहादुर बिकले कक्षा ४ देखि माथिल्लो तहको विद्यार्थीलाई केही वर्षदेखि लगातार यौन दुव्र्यवहार गर्दै आएको अध्ययनका क्रममा पत्ता लागेको अधिकारकर्मीहरुले बताएका छन् ।

ति शिक्षकहरुले कक्षा ४ मा पढ्दादेखि नै आफूहरुलाई नराम्रो छुवाइ गर्दै आएको र आफूले डरको कारण कसैलाई नबताएको हाल कक्षा ७ मा अध्ययनरत एक बालिकाले बताइन् । विद्यालयका बाल क्लबका अनुसार ति शिक्षकहरुबाट करिब ७० जना बालिकाहरु पीडित छन् ।

तर अभिभावक र शिक्षकहरुकै डरको कारण उनीहरु खुल्न सकेका छैनन् । बुधबार अधिकारकर्मीहरुसँग कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीहरुले आफूहरुमाथि नियमित यौन दुव्र्यवहार हुदै आएको बताएका थिए ।

कक्षामा पढाउने क्रममा झ्याल ढोका बन्द गर्न लगाउने, विभिन्न बाहानामा छात्राहरुको संवेदनशिल अंगहरुमा हात लैजाने गरेको र प्रतिकार गर्दा पिट्ने गरेको उनीहरुले बताए । जसले प्रतिकार गर्छ उसलाई ‘बदमास विद्यार्थी’ भन्दै पिट्ने गरेको र जसले चुपचाप सहन्छ उसलाई ‘यो मात्रै ज्ञानी छ’ भन्ने गरेको बालिकाहरुले अधिकारकर्मीहरुलाई बताएका थिए ।

अधिकारकर्मीहरुले सत्य तथ्य बुझनको लागि स्थलगत भ्रमण क्रममा पीडित बालिकाहरु, बालक्लबका सदस्यहरु, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयलगायतका सरोकारवालासँग घटनाका विषयमा जानकारी लिएका थिए ।

पीडितहरुले प्रशासनमा तीन शिक्षकहरुको नाम किटानीसहित कारबाहीको माग गर्दै मिति २०७८ चैत्र ७ गते उजुरी समेत दिइएको र त्यसको न्यायोचित निर्णय नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी सिविन नेपाल, बाल हेल्पलाइन नेपाल १०९८ मकवानपुरका व्यवस्थापक झबिन्द्र ज्ञवालीले बताए ।

घटना भएको लामो समय भएको र किटानी उजुरी नै दिएको २ हप्ता नाघ्दा समेत कानून बमोजिम हुनुपर्ने कारबाही प्रक्रिया अगाडि बढ्न नसकेकोले सरोकारवालाहरु सम्वेदनशिल नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।

बालिकामाथि हुने अमानवीय शोषण दुव्र्यवहारको घटनाका विषयमा बुझ्न जाँदा आफूहरुलाई छात्राहरुसँग बोल्न समेत विद्यालय प्रशासनले रोक्न खोजेको र लामो छलफलपछि छोटो समय बालिकाहरुसँग परामर्श गर्न पाएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले बताइन् ।

विद्यालयका प्राचार्यको निर्देशन बमोजिम छात्राहरुसँग सोधीखोजी गर्ने महिला शिक्षक र कर्मचारीहरुलाई रिसभाव राखेर ज्यान मार्ने धम्की समेत दिइएको जानकारी प्राप्त भएको उनले बताइन् ।

उज्जवल भविष्य बोकेर विद्यालय गएका छात्राहरुमाथि भएको अमानवीय र जघन्य अपराध विरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरुको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र सम्वेदनशीलतालाई ध्यानमा राखी दोषीहरुले उन्मुक्ति नपाउने गरी कानून बमोजिम कारबाही र सजायका लागि सम्बन्धित निकायसमक्ष मकवानपुरका बालअधिकार तथा मानवअधिकारकर्मीहरु माग गरेका छन् ।

स्थानीय केही सरोकारवालाको धारणा बुझदा यस समस्यालाई समाधानको निम्ति स्थानीय स्तरमै मेलामिलापको प्रयास गर्न खोजिएको, अभिभावकले पनि बालिकाहरुलाई नबोल्नका लागि दबाब दिएको प्रत्यक्ष देखिएको राडो नेपाल कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए ।

बालिकाहरुको न्यायका लागि अधिकारकर्मीहरुले आफ्नो तहबाट आवश्यक सहजिकरण तथा समन्वय गर्ने बताउँदै मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल संयोजक आरती पाठकले सम्बन्धित सरोकारवालाहरुले संवेदनशिल विषयलाई संवेदनशिल भएर बुझिदिन आग्रह गरिन् ।

स्थलगत अध्ययनमा शान्ति फाउण्डेशन मकवानपुर जिल्ला संयोजक सिता गुरुङ्ग, ग्रामीण महिला सेवा केन्द्र कार्यक्रम संयोजक दीपक न्यौपाने, सञ्चारिका समूह नेपाल बागमती प्रदेश अध्यक्ष सरिता दहाल, नारी सीप सृजना केन्द्र कार्यसमिति सदस्य सर्मिला विश्वकर्मालगायतको उपस्थिती रहेको थियो ।

घटनाको अझै पनि प्रहरीमा उजुरी परेको छैन । प्रहरीमा उजुरी नपरेपछि आरोपित शिक्षकहरु विद्यालयमा बिदा लिएर घर बसेका छन् । घटनापछि आफूहरुलाई चौतर्फी दबाब आएको बालक्लबका प्रतिनिधिहरुले बताएका छन् । यता बालिकाहरुलाई समर्थन गर्ने शिक्षकहरुमाथि घाँटी रेट्ने भन्नेसम्मको दबाब आएको बताइएको छ । ‘हामीलाई त जे भयो भयो, हामीलाई साथ दिने मिसहरुलाई पनि मारेर फाल्ने भन्ने सम्मको कुरो छ’ एक छात्राले भनिन् ।

स्थलगत अनुगमनमा गएको टोलीसँग विद्यालयका प्रध्यानाध्यापकले आफू पनि न्यायको पक्षमा रहेको र यस’दयगत प्रहरीलाई छानविनको लागि आग्रह गर्ने तयारी भएको बताए । विद्यालयले यसअघि बुधबार विहान विद्यालय व्यवस्थापन समितिको सदस्य भानुमाया सोराली मगरको संयोजकत्वमा छानविन समिति बनाएकोमा उक्त छानविन समिति अवैध भएकोले अब, छानविनको जिम्मेवारी प्रहरीलाई दिने प्रध्यानाध्यापक राइले बताए ।राजधानि दैनिकमा समाचार छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज मन्त्रिपरिषद्को बैंठक ४ बजे बस्ने
पछिल्लो समाचार →
आयोगले ७१ निर्वाचन अधिकृत फेर्‍यो (सूचीसहित)

Leave a Comment

Your email address will not be published. Required fields are marked *