युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमवार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबै नगरपालिका वडा नं. ४ का राप्रपाका वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा (एमाले) बाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका छन् ।

मियामाथि एमालेले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनीसहित परिवारका ७ जना सदस्यमाथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले माग गरेको छ ।

यसैबीच, रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिवीर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने लगायतका गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

यसले जनप्रतिनिधि छनोट गर्ने जनताको अधिकारसमेत कुण्ठित भएको भन्दै राप्रपाले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर