Latest News
Kathmandu

गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले होइन, आर्यभट्टले पत्ता लगाएका हुन् : ओली

गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले होइन, आर्यभट्टले पत्ता लगाएका हुन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनलेभन्दा सयौँ वर्ष पहिले नै पत्ता लागिसकेको बताएका छन् ।

युवासँग केपी ओली कार्यक्रममा उनले प्राचीन भारतका ज्योतिषविद् आर्यभट्टले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको दाबी गरे ।

‘छैटौँ शताब्दीमा आर्यभट्टले खगोल शास्त्र, गणित निकालेर गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । आज तपाईँहरूलाई गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले पत्ता लगाएको भनेर पढाइन्छ’ उनले भने, ‘ग्यालिलियोले स्याउ कसरी माथिबाट खसेको भनेर खोजी गरेर गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लागेको भनिन्छ । यो कुरा त छैटौँ शताब्दीमा आर्यभट्टले पत्ता लगाइसकेका थिए । प्रमाणित पनि गरिसकेका थिए ।’

ओलीले छैटौँ शताब्दीमा आर्यभट्टले पत्ता लगाएको सिद्धान्तलाई १२ औँ शताब्दीमा भास्कराचार्यले थप प्रष्ट्याएको बताए ।

‘आर्य भट्टका शिष्य भास्कराचार्यले पृथ्वीको बेस, तौल, चन्द्रमाको दुरी ,सूर्यको दूरी पृथ्वी गोलो रहेको र यसले कसरी घुम्छ भन्ने कुरा पत्ता लगाएर ११५० सिद्धान्त शिरोमणि पुस्तक निकाले’ ओलीले भने, ‘१२१० मा त्यो पुस्तक प्रकाशित भयो ।’

छैटौँ शताब्दीमा आर्य भट्टका पत्ता लगाएर १२ औँ शताब्दीमा भास्कराचार्यले प्रष्ट पारिएको गुरुत्वाकर्षणको सिद्धान्तलाई १७ औँ शताब्दीमा मात्रै न्यूटनले पत्ता लगाएको ओलीले दाबी गरेका हुन् ।

अर्थशास्त्रको पिताको रूपमा चिनिने एडम स्मिथले पत्ता लगाएको सिद्धान्त पनि कौटिल्यले धेरै अगाडि पत्ता लगाएको ओलीले दाबी गरे । ओलीले बुढा मान्छेहरूले ठूलो प्रयास गर्न नसक्ने भन्दै सृजनशीलतामा लाग्न युवाहरूलाई ऊर्जा थपेका थिए ।

‘बुढा मान्छेहरूले ठूलो प्रयास गर्न सक्दैनन् । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले १८४८मा कम्युनिस्ट घोषणापत्रको रचना गरे’ उनले भने ‘उनीहरूको उमेर त्यही २८/३० थियो । त्यो उमेरमा निकालेको सिद्धान्तले दुनियाँ हल्लायो । अहिले पनि हल्लाइरहेको छ । तपाईहरूको उमेर पनि त्यस्तै छ । तपाईँहरू पनि सृजनशीलतामा लाग्नु पर्छ ।’

ओलीले कुनै समयमा अन्धविश्वासमा रहेको जर्मनीमा ऑटो एडुअर्ड लिओपोल्ड बिस्मार्कको भूमिका सुनाउँदै भगवानको भरोसा नभई आफूमा विश्वास गर्नुपर्नेमा जोड दिएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मसँग उपचार गराउने पैसा पनि छैन : ओली
पछिल्लो समाचार →
सेयर बजारमा लगातार गिरावट, २८ अंकले घटेर कारोबार १ अर्ब ८७ करोडमा सीमित

Leave a Comment

Your email address will not be published. Required fields are marked *