युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । धरानमा रात्रीकालिन बजारको अवधारणा अनुसार बिशेष प्रकृतिका होटल (लाउञ्ज एण्ड बार)हरुलाई तोकिएको सर्त पुरा गरेमा राति २ बजेसम्म खोल्न दिने प्रस्ताव गरिएको छ ।

 

 

उपमेयर अइन्द्रबिक्रम बेघाका अनुसार धरानको बिहीबार सम्पन्न कार्यपालिका बैठकमा पेश भएको उक्त प्रस्ताव पारित भने भएको छैन । उपमहानगरले विगतमा खगेन्द्र खतिवडाको संयोजकत्वमा बनेको समितिले पेश गरेको प्रतिवनेदको आधारमा मापदण्ड बनाएर यस्तो प्रस्ताव गरेको उनको भनाई छ । मापदण्डमा छुटेका कुरालाई थप गर्ने र सरोकारवाला पक्षसँग समन्वय गरि एक साताभित्र प्रतिवेदन पेश गर्न समिति गठन भएको हो ।

मापदण्डसहित प्रस्तुत भएको प्रस्तावमा छलफल पश्चात थप सल्लाह सुझाव लिने र सरोकारवाला पक्षसँग समन्वय गरेर प्रतिवेदन बुझाउन वडा अध्यक्ष रमेश राईको संयोजकत्वमा एक अनुगमन समिति गठन गरिएको उनले बताए ।

कार्यपालिका बैठकमा पेश भएको प्रस्तावमा होटल रेष्टुरेष्ट (लाउञ्ज एण्ड बार) र सामान्य प्रकृतिका होटल तथा रेष्टुरेष्टहरुको लागि पालना गर्नुपर्ने अलग अलग मापदण्ड छन् । लाउञ्ज एण्ड बार बढीमा राती २ बजेसम्म खोल्न पाउने उल्लेख छ । त्यस्ता होटलहरुले ग्राहकको सुरक्षाको लागि सिसिक्यामेरा जडान गर्नुपर्ने, प्राइभेट वा छुट्टै पार्किङको व्यवस्था गर्नुपर्ने, साउण्ड प्रुफ हुनुपर्ने, परिचयपत्रसहित कर्मचारीलाई पहिचान खुल्ने पोशाक र बाउन्सरको व्यवस्था गर्नुपर्ने, ग्राहकलाई मदिरा खुवाउदा होस हवास हराउने गरि वा नियन्त्रण बाहिर हुने नगरि सेवन गराउन नपाउने लगायत मापदण्डहरु उल्लेख छ ।

कार्यपालिकामा यो प्रस्ताव पेश भएपछि रात्रीकालिन बजारको माग गर्दै आइरहेको होटल व्यवसायीहरु खुशी भएका छन् । धरानको वडा नं १५ स्थित बगरकोटका व्यवसायीहरुले यस्तो माग गर्दै आएका थिए । धरानको पर्यटकीय गन्तव्य बन्दै गएको बगरकोटमा करोडौं लगानीमा लाउञ्ज एण्ड बारहरु खुलेका छन् । प्रहरीले भने सुरक्षाको कारण देखाउदै १० बजेतिर नै बन्द गराउने गरेका छन् ।

व्यवसायीहरुले लगानी डुब्न लागेको भन्दैसुरक्षाको प्रबन्ध मिलाएर रात्री अबेरसम्म खोल्न छुट दिनुपर्ने माग गर्दै आएका थिए । यस्तै, धरान १० पुतलीलाइनका व्यवसायीहरुले पनि रात्रीकालिन बजारको माग गर्दै आएका थिए । निवार्चित वडा अध्यक्ष विवेक राईले आफ्नो चुनावी एजेण्डामा रात्रीकालिन बजार सञ्चालन गर्ने एजेण्डा राखेका थिए ।

प्रहरीले भने अहिले कार्यान्वयन गर्न सम्भव नभएको बताएका छन् । सुरक्षा चुनौती बढाइरहेको कारण रातभर होटल खोल्न छुट दिन सम्भव नभएको भन्दै डिएसपी बुद्ध श्रेष्ठ भन्छन् ‘अहिले विभिन्न घटनाहरुले, लागुऔषध कारोबारीले सुरक्षा चुनौती बढेको छ ।त्यसैले बिहान २ बजेसम्म होटल खोल्नु सुरक्षाको हिसाबले सम्भव छैन ।’

नेपालमा एक प्रहरीले ४१६ जना नागरिकको सुरक्षाको जिम्मेवारीमा पर्छ । धरानमा आवश्यक जनशक्तिभन्दा थोरै संख्यामा मात्र प्रहरी भए पनि डिएसपी श्रेष्ठले १६२ जना प्रहरीमध्ये फिल्डमा खटिने प्रहरीको संख्या ६० जना मात्र रहेको बताउँछन् । अरु प्रहरी भान्से, गार्ड, मुद्दा फाँट, उजुरी, सञ्चारलगायतमा हुन्छन् भने केही प्रहरी दैनिकरुपमा अदालतमा जानुपर्ने, भिआइपी सेक्युरिटीमा खटिनुपर्ने, गस्तीमा खटिनुपर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर