काठमाडौं । नेपाल पत्रकार महासंघले एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड, पत्रकारमाथि भएको हातापात र दुर्व्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर टेलिभिजनको महाराजगञ्जस्थित कार्यालयमा भाद्र २६ गते आइतबार तोडफोड, पत्रकारमाथि भएको हातापात र दुर्व्यवहार घटनाप्रति आपत्ति जनाउँदै महासंघले विज्ञप्ति जारी गरेको हो ।
‘समाचारको विषयलाई लिएर एभिन्यूज टेलिभिजनको महाराजगञ्जस्थित कार्यालयमा भाद्र २६ गते आइतबार भएको तोडफोड, पत्रकारमाथि भएको हातापात र दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’, महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एभिन्यूज टेलिभिजनका अनुसार ललितपुरको कुसुन्तीस्थित ‘अनन्त सेवा नेपाल’ बालगृहका सञ्चालक उदयराज भाट (आफूलाई उदयराज भट्ट भनी चिनाउने) व्यक्तिले त्यहाँ बस्ने बालिकामाथि यौनशोषण गरिरहेको सूचनाको आधारमा सोबारे आइतबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रत्यक्ष प्रसारण हुने ‘एभिन्यूज पहल’ भन्ने कार्यक्रममा आफ्नो भनाइ राख्न निज भट्टलाई भाद्र २५ गते शनिबार नै टेलिभिजन पक्षबाट अनुरोध गरिएको थियो । तर कार्यक्रम प्रसारण हुनअगावै निज भट्टले पठाएका ५/६ जना व्यक्तिहरूले आइतबार राति ८ः०० बजेतिरै आएर टेलिभिजनको गेटमा धकेल्ने र ढुंगा हान्नुका साथै पत्रकार राजु भण्डारी, कमल जीसीलगायतलाई हातपात र दुव्र्यवहार गरेका थिए भने ‘एभिन्यूज पहल’ कार्यक्रममा सञ्चालक सुशील पाण्डेको मोबाइलसमेत खोसेको टेलिभिजनले जनाएको छ ।’
समाजमा घट्ने हरेक किसिमका घटनाको बारे नागरिकलाई सुसूचित र सचेत गराउने भरपर्दो माध्यम सञ्चार गृहमा तोडफोड गरिनु पत्रकारमाथि हातपात, दुर्व्यवहार हुनु अत्यन्त निन्दनीय र प्रेसविरोधी कार्य रहेको महासंघको भनाई छ । यस्तै महासंघले प्रेसविरोधी यस्ता कार्यमा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकार र सञ्चार गृहको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि जराएको छ ।
हेर्नुहोस् विज्ञप्ति


Leave a Comment