काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकता विधेयकबारे राष्ट्रपतिको कदम संविधानविरोधी भएको बताएका छन् । उनले विधेयकमा आफ्नै पनि फरक मत रहेको तर, राष्ट्रपतिले यसलाई रोक्न नमिल्ने बताए ।
बुधबार एक कार्यक्रममा बोल्दै नेता खनालले संसदले पारित गरेको कुरामा राष्ट्रपतिले भिन्न मत राख्न नसक्ने बताए । ‘नागरिकता विधेयकमा मेरो पनि फरक मत छ । कतिपय कुरा मलाई नै चित्त बुझ्या छैन । म आफ्नो फरक मत राख्न सक्छु । विद्यादेवी भण्डारीले पनि व्यक्तिगत तवरबाट फरकमत राख्न सक्छिन् । तर, राष्ट्रपतिको हैसियतमा होइन । राष्ट्रपतिले भिन्न मत राख्न पाइँदैन । संसदले पास गरेर ल्याएको कुरा उनले कि प्रमाणीकरण गर्नुपर्छ कि ठाउँ छोड्नुपर्छ । अर्को विकल्प छैन’, उनले भने ।
राष्ट्रपतिको कदम संविधानमाथि चुनौती भएको दाबी गर्दै उनले हिजो केपी ओलीले र अहिले विद्या भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाए । ‘आजैदेखि यसले समस्या खडा गर्छ । आजै हामीले गठबन्धनको तर्फबाट राष्ट्रपतिले गरेको असंवैधानिक कामको हामीले विरोध गरेर वक्तव्य दिनुप¥या । यो दुःखको कुरा हो । आफ्नै देशको राष्ट«पतिविरुद्ध बोल्नुपर्ने कस्तो नमीठो कुरा’, उनले भने ।
‘राष्ट्रपतिले चालेको कदमको प्रशंसा कसले गरेभन्दा कमल थापाले गरे । कस्तो गज्जबले प्रशंसा गरेका छन् आज । राजावादीले प्रशंसा गरिरहेका छन् । गणतन्त्रविरोधीले समर्थन गरेका छन् । तर, गणतन्त्रवादीले अपसोच गरिरहेका छन्’, उनले भने ।

Leave a Comment