Latest News
Kathmandu

गठबन्धन दलका संयुक्त युवाद्वारा राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनको घोषणा

गठबन्धन दलका संयुक्त युवाद्वारा राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । सत्तारुढ गठबन्धन दलका संयुक्त युवा संगठनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको र यसले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको बताएको छ ।

बुधबार बसेको सरकारमा सहभागी दलहरूको युवा संगठनको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ । राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन् भने अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मुल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ ।’

गठबन्धनले राष्ट्रपतिको यो कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबैलाई अपिल समेत गरेको छ । असोज ६ गते दिउँसो २ बजे संयुक्त युवा संगठनले माइतिघर मन्डलामा बिरोध र्‍याली गर्ने निर्णयसमेत गरेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पोखरामा आजदेखि ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ च्याम्पियनसिप
पछिल्लो समाचार →
आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *