काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय गरेको हो ।
माघ १३ गते नागरिकताको मुद्धामा अदालतको फैसालाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए । रास्वपाले गृहमन्त्री माग गरिरहेको छ ।
रास्वपाले दुई दिनभित्र आफ्नो माग पुरा नभए जस्तोसुकै निर्णय हुन सक्ने जनाएको छ । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सो पार्टीका प्रवक्ता मुकुल ढकालले भने— ‘हाम्रो माग पुरा नभए जेपनि निर्णय हुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले त्यतिञ्जेल पर्खिने उनको भनाई छ । प्रवक्ता ढाकालले भने, शुक्रबार र शनिबारको समय छ त्यो दिनसम्म कुरौं न त भन्ने हो । त्यो अनुसार नै हाम्रो हिड्ने बाटो दृढ छ ।’
उनले यसअघि भएको राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले इमानदारिता नदेखाए जस्तो सुकै निर्णय लिन पनि सकिने बताए । ‘राजनीतिक सहमतिको आधारमा उहाँहरुले राजनीतिक इमान्दारिता देखाउनु भएन भने पार्टीले नै यसरी नै बैठक बसेर जे निर्णय पनि लिन सकिन्छ’, उनले भने ।
नागरिकता विवादमा मुछिएपछि पद गुमाएका रवि लामिछानेले नागरिकता सक्रिय भएसँगै गृहमन्त्रलय पाउनुपर्ने अडान राखेका थिए । तर उनलाई गृहमन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डले बताएपछि रास्वपा सरकारबाट बाहिरिने धम्की दिदै आएको थियो । पार्टीमा यस विषयमा समेत दुई धार देखिएको थियो । ठोस छलफल गर्न भन्दै बोलाएको बैठकले नेताहरुको आग्रहमा २ दिने कुर्ने निर्णयमा पुगेको छ ।

Leave a Comment