Latest News
Kathmandu

मनोयुद्धको भुमरीमा माओवादी, यता भीर उता पहिरो

मनोयुद्धको भुमरीमा माओवादी, यता भीर उता पहिरो

एघार वर्षे जनयुद्धको धराप छिचोलेर शान्ति युद्धमा हेलिएको नेकपा माओवादी केन्द्रले आफ्नो आठौं महाधिवेशनबाट पनि नीतिगत रूपमा स्पष्ट र सैद्धान्तिक मार्गदिशा पहिल्याउन सकेन । केन्द्रीय पदाधिकारी र कमिटी सदस्यहरूको चयन पूर्ण रूपले गर्न नसकी महाधिवेशन अन्त्य भयो । पुस २५ गतेका लागि तोकिएको केन्द्रीय समितिको बैठक समेत विभिन्न कारण देखाउँदै स्थगित गरियो ।

महाधिवेशनमा अध्यक्ष प्रचण्डको प्रतिवेदन विरुद्ध प्रस्तुत भएका राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलका पूरक र फरक मतका प्रस्तावलाई आगामी निर्वाचन पश्चात् विचारको महाधिवेशनमा निर्णय गर्ने भनेर नीतिगत बहसलाई थाती राख्यो । महाधिवेशन स्थलमै उठेका तमाम नीतिगत बहसलाई समेत आवश्यक निर्णय नगरी थाती राख्नुले माओवादीभित्र प्रशस्त वैचारिक, नीतिगत र सांगठनिक समस्याहरू रहेको पुष्टि हुन्छ ।

यतिबेला माओवादी पार्टी वैचारिक, नीतिगत र सांगठनिक समस्याबाट कसरी उम्कने भनेर चिन्तित छ । यद्यपि समस्याको उचित निकासको पहल गर्न भने सकिरहेको छैन । आदर्श, नीति र सिद्धान्तमा तमाम अस्पष्टता अनि संगठन स्वरूपमा ब्रगेल्ती अस्तव्यस्तता रहँदा माओवादी एक खालको मनोयुद्धको भुमरीमा फसेको देखिन्छ । आफ्नो पुरानो साख, शक्ति र जनविश्वास फर्काउन कस्तो लक्ष्य लिने र कुन विधि र नीतिलाई अँगाल्ने भन्ने ठोस निर्णय नगरी आठौं महाधिवेशन सकिनु उसको एक खालको राजनीतिक असफलता हो ।

माओवादी केन्द्रले आगामी दिनमा देश, जनता र कम्युनिष्ट आन्दोलनप्रति अलिकति पनि जिम्मेवार हुने हो भने आफ्नो एउटा स्पष्ट राजनीतिक मार्गदिशा अब समात्नैपर्छ । नत्र एकीकृत कम्युनिष्ट आन्दोलनको मूलबाटो छोडेर अनिश्चितताको जङ्गल पसेको माओवादीको अगाडि यता भीर उता पहिरो मात्र फेला पर्ने देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालमा ११ वर्षे सशत्र युद्ध गरेपछि संविधानसभाको पहिलो चुनावमा पहिलो भएको पार्टी हो । तर, दोस्रो संविधानसभाको चुनावमा लज्जास्पद हार व्यहोरी तेस्रो दलमा खुम्चिन पुग्यो । माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अँगालेको माओवादीले प्रचण्डपथका रूपमा केही समय अगाडि बढाए पनि पछिल्लो समयमा सो पथ त्याग्न बाध्य भयो । जनयुद्धको निर्मम समीक्षा नगर्दै पार्टी फुट्दै गयो ।

पार्टीका शीर्ष तहका नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सीपी गजुरेल लगायतले पार्टी छोड्दै गए । पछिल्लो समयमा रामबहादुर थापा बादल र लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायत आधा दर्जन सांसद र नेता पनि पार्टीबाट टाढिइसकेका छन् । अस्थिर राजनीतिक व्याख्या र स्पष्ट अडान नभएका कारण माओवादी पार्टी यतिखेर विपक्षी पार्टीहरूमा मात्रै होइन, आफ्नै पार्टी समर्थकहरूमा समेत विश्वसनीय बन्न सकेको छैन । त्यसैले त पार्टीको सैद्धान्तिक धरातल साह्रै कमजोर देखिएको छ ।

संविधानसभाको पहिलो निर्वाचनबाट प्रतिविम्बित मतलाई माओवादीले सम्पूर्ण रूपमा समर्थकले दिएको जस्तो ठान्यो । माओवादी सशस्त्र द्वन्द्वबाट आएको र मुलुकमा परिवर्तन गर्ने अभीष्ट देखिएको हुँदा केही भइहाल्ला कि भनेर परीक्षणका लागि माओवादीलाई सर्वसाधारणले त्यतिबेला मत दिएका थिए तर उक्त आशातीत र हार्दिक मतलाई उसले सम्हाल्न सकेन । लोकतान्त्रिक व्यवस्था र पद्धतिमा आइसकेपछि उसले सबैसँग समन्वय गरी संवेदनशील बनेर अगाडि बढ्नुको सट्टा युद्ध–उन्मादमा नानाथरी आवेशात्मक त्रुटिहरू गर्दै गयो । शान्ति प्रक्रियामा आएपछि पार्टीभित्र देखिएको ‘विद्रोह कि संविधान निर्माण ?’ भन्ने नीतिगत अन्योलले माओवादीलाई ठूलै क्षति पुर्‍यायो ।

नेकपा माओवादीले संसदीय व्यवस्थाको समाप्ति र गणतन्त्र स्थापनाका लागि भन्दै ११ वर्ष सशस्त्र युद्ध गरेको थियो । ‘संसदीय व्यवस्था मुलुक र जनताका लागि अफाप छ, संसद् खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो’ भन्दै जङ्गल पसेको थियो तर ११ वर्षपछि पुनः त्यही संसदीय व्यवस्थामा फर्केर संसदीय चुनावी राजनीतिमा आफू होमिएको छ ।

हरि ज्ञवाली

विभिन्न जातजातिको पहिचानका आधारमा राज्य बनाउने माओवादीको अभियान थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था निर्माण गर्ने उसका मुख्य मुद्दा थिए । तर यतिखेर मुलुकमा न त पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम छ न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै । न त जातीय आधारका राज्यहरू नै । यसलाई माओवादीको राजनीतिक र रणनीतिक असफलता मान्ने कि सैद्धान्तिक विचलन ? प्रश्न उठेको छ ।

माओवादी आन्दोलनको अर्को प्रमुख मुद्दा संविधानसभा निर्वाचनबाट संविधान निर्माण थियो । तर संविधानसभाको प्रथम निर्वाचनबाट सबभन्दा ठूलो दलका रूपमा जनताबाट चुनिएर पनि माओवादी नेतृत्वमा संविधान निर्माण हुन सकेन ।

चुनाव सम्पन्न गर्न पनि गैरराजनीतिक (संवैधानिक) व्यक्तिलाई सत्ता सुम्पनुपर्‍यो । जुन उद्देश्यका लागि १७ हजार मानिसको ज्यान गयो, खरबौंको संरचना ध्वस्त भए त्यही कुरा नै हुन नसकेपछि त्यो विद्रोह र विध्वंश केका लागि थियो ? थप प्रश्न उठेका छन् ।

माओवादी आन्दोलनको बलमा स्थापित भएको संघीयता मुलुकका लागि बोझिलो भएको गाइँगुइँ चल्न थालेको र समाप्त भएको राजतन्त्र नै पुनःस्थापनाको प्रसङ्ग उठिरहँदा माओवादी आन्दोलन र राजनीति ठीक थियो वा गलत ? आशंका उब्जिएको छ ।

यी पाँच निर्मम घटना, जसले माओवादीलाई ऐतिहासिक रूपमै ठूलो क्षति पुर्‍याए ।

१. शिक्षक मुक्तिनाथ अधिकारीको हत्या

वि.सं. २०५८ माघ ३ गते लमजुङ जिल्लाको पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको हत्या माओवादी कार्यकर्ताले गरेको एउटा ठूलो त्रुटि थियो । विद्यालयका शिक्षकहरूको दशैं पेश्की पार्टीलाई चन्दा नदिएको बहानामा विद्यालयबाट जबर्जस्ती निकालेर क्रूरतापूर्वक हत्या गरियो । आफ्नै गलबन्दीले रूखमा झुन्ड्याएर टाउकामा गोली हानी शरीरमा खुकुरी प्रहार गरेको निर्मम घटनाले माओवादीलाई अझै पनि आलोचित बनाइरहेको छ ।

२. पत्रकार डेकेन्द्र थापाको हत्या

दैलेख जिल्ला कार्यक्षेत्र बनाएका पत्रकार डेकेन्द्र थापालाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी निर्मम हत्या गरेको थियो । माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको २०६१ साउन २७ गते एउटा विद्यालयको कक्षाकोठाबाट अपहरण गरी हत्या गरिएको थियो । २०६१ मा माओवादीद्वारा अपहरित डेकेन्द्र थापाको शव चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटियो । पत्रकार महासंघ र मानवअधिकारवादी संघसंस्थाको पहलमा चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर गाडिएको अवस्थामा भेटियो । यो हृदयविदारक घटनाले माओवादीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा बदनाम गरायो ।

३. बाँदरमुढे घटना

२०६२ साल जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढेमा तत्कालीन विद्रोही नेकपा माओवादीहरूले थापेको विद्युतीय धरापमा परी बसमा यात्रा गरिरहेका ४१ जना सर्वसाधारण मानिसको अनाहकमा ज्यान गयो । यो घटना नेपालको इतिहासमा अत्यन्त दुखद् घटना हो । राज्यसँग लडिरहेको शक्ति माओवादीका केही अराजक व्यक्तिहरूको बेहोसीका कारण थुप्रै निर्दोष सर्वसाधारणको ज्यान गएको घटनाले माओवादीलाई सदैव आलोचित बनाइरह्यो । जसका लागि अध्यक्ष प्रचण्डले जनतासामु पटक–पटक माफी मागिरहनुपरेको छ ।

४. पत्रकार वीरेन्द्र साहको हत्या

वि.सं २०६४ असोज १८ गते बाराका पत्रकार साहको हत्याका कारण पनि माओवादी आलोचित भइरह्यो । बाराको डोढियापिपरा बजारबाट अपहरणपश्चात् जङ्गलमा गाडिएको अवस्थामा शाहको शव फेला परेको थियो ।

शान्ति सम्झौतामा आइसकेपछि पनि तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जंगलमा चरम यातना दिएर हत्या गरेका थिए । यो घटनाले पनि माओवादीलाई बदनाम गराइरह्यो ।

५. कटवाल काण्ड

२०६६ सालमा तत्कालीन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हठात् हटाउने निर्णय गर्दा आफैंलाई प्रत्युत्पादक बन्न पुग्यो । फलतः चुनाव जितेर पनि माओवादी सरकारबाट बाहिरिनुपर्‍यो ।

नेपाली सेनामाथि अनावश्यक राजनीतिक हस्तक्षेप बढाउन खोज्दा तत्कालीन राष्ट्रपति र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले साथ नदिंदा राजीनामा दिई प्रधानमन्त्रीको पद त्याग गर्नुपर्‍यो। माओवादीका निम्ति यो घटना ठूलो राजनीतिक क्षति थियो ।

जानी–नजानी भएका यी तमाम गल्तीका कारण नेकपा माओवादी केन्द्र नेपाली समाजमा राजनीतिक रूपमा कमजोर बन्दै र जनताको नजरमा ओरालो लाग्दै गएको हो ।

गरीब, निमुखाहरूको जीवनस्तर उकास्ने कसम खाएर माओवादी जनयुद्धमा होमिएको थियो । त्यतिबेला उसले राष्ट्रियता र जनजीविकासँग जोडिएका विभिन्न विषयलाई अघि सारेर नेपाली जनताको सहानुभूति एवं समर्थन बटुल्न सफल पनि भयो । नयाँ नेपाल बनाउने उसको अभियानमाथि विश्वास गरेर सोझा नेपाली जनताले धेरै थोक गुमाए । देशले अर्बौं–खर्बौं मूल्यको क्षति बेहोर्नुपर्‍यो । शान्ति प्रक्रियापश्चात् सरकारमा गएपछि जनजीविकाका मुद्दा छायाँमा परे । उत्पीडित जाति, भाषा, क्षेत्र, लिंग, किसान, मजदूरका जर्जर समस्या उठान गर्ने शक्तिबाट विमुख हुँदै गयो फलतः वर्ग रूपान्तरण भएपछि आन्दोलनका उपलब्धि किनारामा पर्दै गए ।

कान्तिकारी चरित्र गुम्दै गएपछि कम्युनिष्ट पार्टीभित्र आन्दोलनकारी वेग रहिरहँदैन । विचारधारात्मक मुद्दा नारामै सीमित भएपछि जनताबाट पार्टी टाढिंदै जान्छ । नेताहरूको विलासी जीवनशैली र व्यक्तिगत महत्वाकांक्षाको उचित नियन्त्रण हुन नसक्दा समग्र आन्दोलन र सिंगो पार्टी नै धरापमा पर्न जान्छ । यतिखेर माओवादी यही नीतिगत र सांगठनिक समस्यामा फसेको छ ।

त्यसो त माओवादी केन्द्रले आफूलाई नयाँ जनवादी क्रान्ति र कार्यनीति अलग्याएको पनि धेरै भइसक्यो । तत्काल समाजवादी क्रान्ति सम्भव छैन, र तत्कालै समाजवादी नीति लागू गर्न सकिंदैन भन्ने तथ्यमा पुग्दा पनि माओवादी नीतिगत अलमलमा पुग्नुलाई भने उसको राजनीतिक–सांगठनिक असफलता हो भन्न सकिन्छ ।

विगत १६ वर्षमा माओवादी ११ वर्ष सरकारमा बसेको छ । यी सरकारहरूमा सहभागी हुँदा माओवादीले कांग्रेस, एमाले, जसपा, मधेशवादी पार्टी सबैसँग गठबन्धन गरेको छ । जनाधार खुम्चँदै कमजोर बन्दै गएको माओवादीले आफ्नो अस्तित्व रक्षाको लागि यतिखेर भरपर्दो चुनावी पार्टनर खोजिरहेको छ । त्यसैले ऊ कहिले काङ्ग्रेससँग नजिक पुग्छ त कहिले एमालेसँगको एकीकरणमा टाँसिन जान्छ अनि कहिले विद्रोहको भाषा बोलेर पुरानै दिशामा फर्कने धम्की दिन थाल्छ । त्यो पनि सम्भव नभएपछि पाँच दलीय गठबन्धनको निरन्तरता वा नेकपा समाजवादीसँग एकीकरणको रटानमा अडिएको छ । माओवादी केन्द्रले आफूलाई बचाउन यी तमाम उपायमा भरमग्दुर प्रयास गरे पनि नीतिगत स्पष्टता विना माओवादीमा यथेष्ट रूपान्तरण र पुनस्र्थापनाको सम्भावना अब देखिंदैन ।

अन्त्यमा, माओवादी केन्द्रले आगामी दिनमा देश, जनता र कम्युनिष्ट आन्दोलनप्रति अलिकति पनि जिम्मेवार हुने हो भने आफ्नो एउटा स्पष्ट राजनीतिक मार्गदिशा अब समात्नैपर्छ । नत्र एकीकृत कम्युनिष्ट आन्दोलनको मूलबाटो छोडेर अनिश्चितताको जङ्गल पसेको माओवादीको अगाडि यता भीर उता पहिरो मात्र फेला पर्ने देखिन्छ ।

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् ।)

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वैदेशिक रोजगारीमा देश अनुसार व्यवहारः भारतमा बेपत्ता नेपालीको खोजीसम्म पनि हुन्न
पछिल्लो समाचार →
धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *