Latest News
Kathmandu

नेपालमा आज : कोरोनाविरुद्धको खोपमा तिब्रतासँगै किन चुलिदैछ व्यापार घाटा ?

नेपालमा आज : कोरोनाविरुद्धको खोपमा तिब्रतासँगै किन चुलिदैछ व्यापार घाटा ?

११ माघ, काठमाडौं । नेपालमा तिब्रता दिइदै गरेको खोप अभियान, विकास खर्च भन्दा बढी तलबभत्ता र सामाजिक सुरक्षामा हुने गरेको खर्च, बढ्दै गरेको व्यापार घाटा, माओवादी केन्द्रको पदाधिकारि चयनमाथीको चासोसँगै मौसमी अवस्था लगायतका प्रमुख ५ खबरहरु यस्ता छन् ।

नेपालमा १ करोड २९ लाखले लगाए पूर्णमात्रा खोप, डेढ लाख बढीलाई बुस्टर
नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म एक लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाएका छन् । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप भित्रिएकोमा १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको छ । जसमध्ये एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भने एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात दुई डोज लगाएका छन् । काठमाडौँ उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान फेरि सुरु हुँदा उपत्यका बाहिरका केही जिल्लामा जारी छ ।

विकास भन्दा बढी तलबभत्ता र सामाजिक सुरक्षा खर्च
नेपालमा विकास भन्दा बढी तलवभत्ता र सामाजिक सुरक्षामा बजेट खर्च हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आर्थिक वर्ष २०७७÷७८ को बजेट खर्चको विश्लेषण तथ्यांकले यो तथ्य उजागर गरेको हो । आर्थिक वर्षमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यो बजेटबाट खर्च भने ११ खर्ब ९६ अर्ब ६७ करोड रुपैयाँ मात्र भएको छ । कार्यालयका अनुसार सो वर्ष २ खर्ब २८ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको थियो । यो कुल बजेट खर्चको १९.१२ प्रतिशत हो । यसैवर्ष सरकारले २३.०३ प्रतिशत अंक सरकारी कर्मचारी तथा पदाधिकारीको तलवभत्ता र सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गरेको पाइएको छ । यो दुई प्रयोजनमा एक वर्षको अवधिमा २ खर्ब ७५ अर्ब रुपैयाँ खर्च भएको छ । सामाजिक सुरक्षा र पारिश्रमिकबाहेक करिब सवा एक अर्ब रुपैयाँ भने अन्य प्रकारको सहायता वितरणमा खर्च हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार एक वर्षको अवधिमा सरकारले १ अर्ब २६ करोड रुपैयाँ सहायता वितरणमा खर्च गरेको छ ।

नेपालको व्यापार घाटा उच्च बिन्दुमा
कोरोनाका कारण आर्थिक संकट बढिरहेका बेला व्यापार घाटा चुलिँदै गएको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको वैदेशिक व्यापार आयात तथा निर्यातको अवस्था सार्वजनिक गरेसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६. ६४ प्रतिशतले बढेको हो । यसरी ६ महिनामा ४६. ६४ प्रतिशतले नेपालको वैदेशिक व्यापार घाटा भएर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख थियो । एक वर्षको अवधिमा २ अर्ब ८० अर्ब ४ करोड ५६ लाख रुपैयाँले व्यापार घाटा वृद्धि भएको पाइएको छ । ६ महिनामा मुलुकको वैदेशिक व्यापार ५४.८६ प्रतिशतले वृद्धि भएर ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख पुगेको छ । गत वर्षको यो अवधिमा ७ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक व्यापार भएको भन्सारको तथ्यांक छ ।

माओवादी नेता पुन स्वेदश फिर्ता, कहिले लाग्ला पदाधिकारिको टुंगो ?
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किनुभएको छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन झण्डै ४ महिना लामो उपचारपछि सोमबार पुन नेपाल फर्किनुभएको हो । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पुनले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहने र सहमतिबाटै पदाधिकारिको छिनोफानो हुने बताउनुभयो । पुन स्वादेश फर्किएसँग माओवादी केन्द्र पदाधिकारिको टुंगो लाग्ने आँकलन गरिएको छ ।

आजदेखि नेपालको मौसममा सामान्य सुधार
मौसममा आजदेखि सामान्य सुधार देखिएपनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा हुने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको भएपनि सोमबारको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले जानकारि दिनुभयो । पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने पूर्वानुमान गरिएको छ । आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना कायमै छ । तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने भएपनि बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जानकारि दिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मानव अधिकार आयोगले भन्यो : नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुनुस्
पछिल्लो समाचार →
खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *