Latest News
Kathmandu

बालबालिकामा हात, खुट्टा र मुखसम्बन्धी रोगहरू सामान्य

बालबालिकामा हात, खुट्टा र मुखसम्बन्धी रोगहरू सामान्य

यदि बालबालिकाको अनुहार अरू सामान्य अवस्थाभन्दा फुस्रो हुँदै गएको छ, हल्का ज्वरो आउने, खाना खान नमान्ने जस्ता समस्या देखिएको छ भने त्यो के भएको हुन सक्ला ? त्यतिमात्र होइन मुखमा घाउ आउने, हात खुट्टाको छालामा रातो मसिना फोकाहरू आउने पनि बालबालिकाहरूलाई भइरहन्छ ।

यदि यस्तो भइरहेको छ भने यो एक प्रकारको भाइरल सङ्क्रमण हो । यो विशेषतः बालबालिकाहरूमा देखिन्छ र यसको ठोस उपचार हुँदैन । यदि यस्ता लक्षणहरू देखिएको छ भने त्यसबाट बालबालिकामा हुने सङ्क्रमणबाट बच्न केही उपायहरू अपनाउन सकिन्छ ।

  • प्रमुख लक्षण

यसरी हुने सङ्क्रमणको मुख्य लक्षण हल्का ज्वरो आउने नै हो । त्यससँगै घाँटी दुख्ने, असजिलो महसुस गर्ने, जिब्रो गिजा र गालाको भित्री भागमा छाला निस्किएको जस्तो घाउ आउने, रातो दागहरू देखिने तर उक्त दागहरू चिलाउँदैन, चिडचिडेपन महसुस हुने जस्ता समस्याहरू देखिन्छन् । यस्ता समस्याहरू घरमा नै समाधान हुन १० दिनसम्म लाग्न सक्छ ।

बालबालिकामा यस्तो सङ्क्रमण देखिएको बेला उनीहरूको शरीरमा निर्मलीकरण हुन नदिन प्रशस्त मात्रामा पानी पिउन लगाउनुपर्छ । त्यस्तै नरम खानेकुराहरू खुवाउने एसिड भएको खानेकुरा खान नदिने, चपाउनुपर्ने र तातो खाना पनि खान दिनु हुँदैन । प्रशोधित पेय पदार्थ र मसलायुक्त खाने कुरा सङ्क्रमण अवधिभरका लागि बन्द गर्नुपर्ने हुन्छ । यदि मुखमा भएका घाउले खाने कुरा खानै नसक्ने स्थिति आयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

सङ्क्रमण फैलिनबाट रोक्ने उपाय
यसरी हुने हात, मुख र खुट्टामा हुने सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत सर्ने सम्भावना उच्च हुने भएकाले ध्यान पुर्‍याउनुपर्ने हुन्छ । हात नधुने बानीले सङ्क्रमण मलद्वारदेखि मुखको मार्ग सम्म पनि फैलन्छ । त्यस्तै श्वासनली, मुख र खुल्ला घाउबाट आउने तरल फोहोरद्वारा अर्को व्यक्तिसम्म सङ्क्रमण फैलन्छ ।

त्यसैले सङ्क्रमितले सङ्क्रमण मुक्त नभएसम्म अँगालो हाल्ने, म्वाइँ खाने, जस्ता काम गर्नु हुँदैन । थुक्दा, हाछ्यु गर्दा र खोक्दा जथाभाबी नगरी सही तरिका अपनाउनुपर्छ । यसो गर्नाले सङ्क्रमण फैलने सम्भावना न्यून हुन्छ । यदि घरको बालबालिका अथवा अरू सदस्यमा यस्तो स्वास्थ्य समस्या आएमा तलका कुराहरूमा ख्याल पुर्‍याउनुपर्छ ।

हात धुने कामलाई प्राथमिकतामा राख्ने
बालबालिका र अरू व्यक्तिले पनि पटकपटक साबुन पानीले हात धोइराख्नुपर्छ । विशेषगरी शौचालय प्रयोग गरेपछि, बच्चाको मलमूत्र विसर्जन गरेपछि र खाना खानुअघि । यदि साबुन पानी उपलब्ध छैन भने ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्नुपर्छ ।

सङ्क्रमितले प्रयोग गरेको ठाउँको सरसफाइ
घरमा सधैँ सबै व्यक्तिले प्रयोग गर्ने साझा ठाउँको सफाइ गर्नुपर्छ । यदि कुनै ठाउँ सङ्क्रमितले प्रयोग गरेको छ र अरू व्यक्तिले पनि प्रयोग गर्नु अनिवार्य छ भने त्यस ठाउँलाई कीटाणु रहित हुनेगरी सफा गर्नुपर्छ । सफा गर्न साबुन, सर्फ अथवा क्लोरिन झोलको प्रयोग गर्न सकिन्छ । एकदिन सफा गरेर हुँदैन दिनदिनै सफा गर्नुपर्छ ।

राम्रो स्वच्छता सिकाउने
बालबालिकालाई सधैँ सफा गर्न सिकाउनुपर्छ । यदि बालबालिका बुझ्ने भइसकेका छन् भने नाक, मुख र आँखामा किन हातका औलाहरूले छुनु हुँदैन भन्ने बुझाउनुपर्छ ।

सङ्क्रमितलाई अलग्गै स्थानमा राख्ने
सकेसम्म यस्तो सङ्क्रमण भएका व्यक्तिलाई अरू व्यक्तिभन्दा अलग्गै स्थानमा राख्नुपर्छ । विद्यालय पठाउने, भिडमा जान दिने गर्नु हुँदैन । यसो गर्दा छिटो हुनुको साथै अरू व्यक्तिलाई सर्दैन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अर्थले डेढ अर्ब दिने, शुरु भयो मेलम्चीको पुनर्निर्माण
पछिल्लो समाचार →
कविता “घाटलाई नियाल्दा”

Leave a Comment

Your email address will not be published. Required fields are marked *