Latest News
Kathmandu

हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए

हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन्।

अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर अनुपस्थित हुने विषयमा लगातार गुनासो आएपछि उनले आकस्मिक अनुगमन गरेका हुन्। अनुगमनका क्रममा केही डाक्टर डिउटी समयमा उपस्थित नभेटिँदा मुख्यमन्त्रीले अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए।

उनीहरूले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंलाई तत्काल अस्पतालमा बोलाएर सेवा प्रवाह प्रभावकारी बनाउन र देखिएका समस्या शीघ्र समाधान गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री बानियाँले सरकारी अस्पतालमा नागरिकले सहज र गुणस्तरीय सेवा पाउनुपर्ने उल्लेख गर्दै व्यवस्थापनलाई जिम्मेवारीप्रति गम्भीर हुन सचेत गराएका छन्।

“सरकारी अस्पतालमा सेवा लिन आएका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था स्वीकार्य हुँदैन।”

अनुगमनका क्रममा उपचाररत अधिकांश बिरामीले डाक्टर समयमै नपाइने गुनासो गरेका थिए। एक बिरामीले भने,

“हेटौँडा अस्पतालमा कहिले सुधार आउने हो थाहा छैन। भवन मात्रै भएर के गर्नु, भित्रको सुविधामा सुधार हुन सकेको छैन।”

मुख्यमन्त्रीको अनुगमनपछि अस्पताल व्यवस्थापनले सेवा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। प्रदेश सरकारको तर्फबाट पनि स्वास्थ्य सेवामा देखिएका कमजोरी सुधार गर्न नियमित अनुगमन निरन्तरता दिइने जनाइएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मूल्य घट्दा चाँदी बढ्यो
पछिल्लो समाचार →
पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन

Leave a Comment

Your email address will not be published. Required fields are marked *