भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन्। नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ।
नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नहुने चिकित्सकको भनाइ छ।
भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत् जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम भएको बताउनुभयो।
औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उहाँको दाबी छ। तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उहाँको अनुभव छ।
एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको छ, जसमध्ये दुई जनामा सङ्क्रमण देखिएको थियो।
सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी सङ्क्रमित औषधि लिन आउने गरेका छन्। तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका सङ्क्रमितले चितवनबाट औषधिसहित उपचार लिँदै आएका छन्। विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन्।
सापकोटाका अनुसार हाल एक हजार एक सय चार जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन्, जसमध्ये ४५ जना बालबालिका छन्। औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसम्म रहेका छन्।
नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो भएको उहाँको भनाइ छ। औषधि खाइरहेका सङ्क्रमितमध्ये ९७.६० प्रतिशतको सङ्क्रमण नसर्ने अवस्थामा पुगेको छ। एक हजार कपीभन्दा कम भाइरसको संख्या भएका बिरामीबाट एचआइभी एड्स नसर्ने उहाँले जानकारी दिनुभयो।
सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ। समूदायमा परीक्षण गरिएका १२४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका १११ मध्ये २५ जनामा सङ्क्रमण पुष्टि भएको हो। यस वर्ष ११६ जना नयाँ सङ्क्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधि सुरु गरेका छन्।
सङ्क्रमितले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ। सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ।
जिल्लामा रहेका सङ्क्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ। सङ्क्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो।
सङ्क्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष छन्। यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिङ्गी, यौनिक अल्पसङ्ख्यक, लागूऔषध प्रयोगकर्तामा पनि सङ्क्रमण देखिने गरेको छ।

Leave a Comment