
१३ माघ,काठमाडौं । नेपाल प्रहरीमा तीन प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दरबन्दी थप हुने भएको छ । स्रोतका अनुसार केहीदिन भित्रै दरबन्दी थप्ने सरकारको तयारी छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयले पेश गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पनरावलोकन गर्ने सैद्धान्तिक स्विकृति दिएको छ ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा एआईजीको दरबन्दी राख्ने तयारी गरेको छ । सोही मागसहित ओएन्डएम गृहमा पेश भएको थियो । दरबन्दी थपिएसँगै तीनै विभागमा एआईजीको कमाण्ड रहने छ ।
एआईजी बन्नका लागि हाल केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआइजी धिरज प्रताप सिंह, रानीपोखरीमा कार्यरत डिआइजी उत्तम सुवेदी र प्रहरी प्रधान कार्यालय कार्य विभागमा कार्यरत डिआइजी रविन्द्र धानुक प्रतिष्पर्धामा छन् ।
यसअघि लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका डिआइजी धानुक त्यतिबेला विवादमा आएका थिए । उनले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलेको पक्षमा प्रहरी संगठनको दुरुपयोग गरेको आरोप लागेको थियो । उनले एक महिला सांसदलाई हातपात गरेको घटना समेत आएको थियो ।
हाल गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी दिवेश लोहनी, अख्तियारमा कार्यरत बसन्तकुमार पन्त, कर्णालीका प्रहरी प्रमुख गणेश ऐर लगायत पनि प्रतिष्पर्धामा छन् । ऐर र पन्त हालका आइजीपी शैलेश थापाकै ब्याची हुन् ।
त्यस्तै डिआइजी बसन्त लामा, अरुण बिसी लगायत पनि प्रतिष्पर्धामा छन् ।