Latest News
Kathmandu

क्रिप्टोकरेन्सीले थप्यो अर्थतन्त्रमा चुनौती

क्रिप्टोकरेन्सीले थप्यो अर्थतन्त्रमा चुनौती

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भर्चुअल मुद्राको कारोबार जुवाभन्दा पनि खतरनाक रहेको बताउँछन् । यसमा अहिले धेरै सरकारी कर्मचारी पनि संलग्न रहेको उनको दावी छ । यस्ता गतिविधिले पूँजी पलायन बढाउने उनले बताए । विशिष्ट तहमा काम गरेर अवकाश लिएकाहरुले समेत भर्चुअल मुद्राको कारोबारलाई राम्रो आम्दानीको स्रोत बनाएका छन् ।

कहाँबाट फैलियो भर्चुअल मुद्रा ?

ल्याटिन अमेरिकी देश एल साल्भाडोरले सबैभन्दा पहिले बिटक्वाइन नामक भर्चुअल मुद्रालाई मान्यता दिएको थियो । अहिले नेपाल, चीन जस्ता दर्जनौं देशले अवैध भने पनि कतिपय देशहरुले भने यस्तो कारोबारलाई वैधानिक मान्छ ।

भर्चुअल करेन्सी जुवाभन्दा पनि खतरा हो । लोभले लाभ, लाभले विलाप हुन्छ । बेलैमा सचेत बनौं– पूर्व गभर्नर क्षेत्री

कतिपय देशहरुले वैधानिकता भनेका कारण पनि सरकारी तहमा पुगेका ठूला कर्मचारीहरु र अध्ययनशील नेपालीहरु समेत लगानी गर्ने गरेको उनी सुनाउँछन् । तर यस्तो मुद्रालाई मान्यता दिनु सम्बन्धित व्यक्ति र मुलुककै अर्थतन्त्रका लागि घातक रहेको उनले बताए ।

बिटक्वाइनका विषयमा एक जना पूर्वसचिवले समेत आफूसँग परामर्श लिएको पूर्वगभर्नर क्षेत्री बताउँछन् । तर आफूले जोखिम छ भनेर बुझाइदिएको उनी सुनाउँछन् ।

२०११ मा एक डलरबाट शुरु भएको बिटक्वाइनको कारोबार गत अक्टोबर महीनामा प्रति युनिट ६६ हजार डलर भन्दा बढी पुगेको थियो । बिटक्वाइनको मूल्य पछिल्ला केही दिनयता भने लगातार घटिरहेको छ ।

‘दुई दिन अगाडि प्रति युनिट ३७ हजार ३२० डलर अर्थात् ४४ लाख रुपैयाँमा झरेको देखिन्छ, अर्थात् अक्टोबर महीनामा किन्नेहरुले अहिले ठूलो रकम गुमाइसके’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘यो त जुवा मात्रै होइन, घोर जुवा हो, यसले लोभले लाभ, लाभले विलापको अवस्था ल्याउँछ ।’

पछिल्लो समय कतिपय देशमा बिटक्वाइन जस्ता अन्य धेरै भर्चुअल मुद्राहरु आएका छन् । तर नियामक निकाय कतै नहुने र मनपरी कारोबार हुने गरेकाले जुनसुकै बेला आफ्नो पूँजी जोखिममा पर्ने पूर्वगभर्नर क्षेत्री बताउँछन् । यस्तो कारोबारले मुद्रास्फीति बढाउने र वित्तीय अस्थिरता समेत ल्याउने उको विचार छ ।

राष्ट्र बैंकमा पनि गुनासो

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्ट पछिल्ला दिनमा भर्चुअल मुद्राको विषयमा गुनासो र उजुरी बढेको छ । ‘राष्ट्र बैंकमा यस विषयमा धेरै गुनासा तथा उजुरीहरु आएका छन्, यस विषयमा थप बुझ्ने काम भइरहेकाे छ’ उनी भन्छन् । नेपालमा भन्दा विदेशमा बस्ने नेपालीले यस्तो कारोबार गरिरहेको उनको अनुमान छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक भट्ट अहिले चर्चामा रहेको अवैध भर्चुअल कारोबारले सम्बन्धित व्यक्ति र मुलुकको अर्थतन्त्रलाई समेत चुनौती दिएको बताउँछन् । यसले धेरै नेपालीले विदेशमा पसिना बगाएर कमाएको रकम समेत जोखिममा पारेको उनको भनाइ छ । ‘ठूलो रकम कमाउने आशमा यस्ता ठाउँहरुमा पैसा हाल्ने गरिएको छ, तर यो जुनसुकै बेला समस्यामा पार्न सक्छ यसतर्फ सर्वसाधारण सचेत हुनुपर्छ’ भट्टले भने ।

नेपाल र विदेश जहाँ बसे पनि नेपालीलाई भर्चुअल मुद्रामा लगानी गर्न कानूनले प्रतिबन्ध लगाएको उनले बताए । नेपालमा बस्ने भन्दा पनि विदेशमा बस्नेहरुबाट यस्तो मुद्रामा लगानीको चुनौती देखिएको छ । ‘गैर कानूनी क्रियाकलापले अर्थतन्त्रलाई असर गरिहाल्छ, अहिले यसलाई चुनौतीको रुपमा लिनुपर्छ’ उनी भन्छन् ।

रेमिट्यान्स घट्नुको कारण

चालु आर्थिक वर्षको शुरुवातीसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हरेक महीना बढ्दो क्रममा छ । वैदेशिक रोजगारीमा जानेको संख्या धेरै बढ्दा यसको सकारात्मक असर रेमिट्यान्समा देखिनुपर्ने हो । तर रेमिट्यान्स भने हरेक महीना ओरालो लागिरहेको छ ।

चालु आर्थिक वर्षको पाँच महीनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले गरेको प्रारम्भिक अनुसन्धान अनुसार कोरोनाकालमै नेपालीहरु क्रिप्टोकरेन्सीको कारोबारतिर आकर्षित भएको पाइएको छ । पछिल्लो समय भने कारोबारको आकार बढेको छ ।

अहिले रेमिट्यान्स घट्नुको प्रमुख कारण अवैध भर्चुअल मुद्राको कारोबार हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए । विदेशमा रोजगारी गर्नेले घरमा पठाउने रकम कटाएर भर्चुअल मुद्रामा लगाएको पाइएको पनि उनी बताउँछन् । ‘बढ्नु पर्ने रेमिट्यान्स घट्नुको कारण यहीं नै हो’ प्रवक्ता भट्टले भने ।

छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभन देखाई विभिन्न नाम दिएर यस्तो कारोबार गराउने अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । अहिले खासगरी क्रिप्टोकरेन्सीको कारोबार धेरै हुने गरेको राष्ट्र बैंकको निष्कर्ष छ ।

राष्ट्र बैंकले गरेको प्रारम्भिक अनुसन्धान अनुसार कोरोनाकालमै नेपालीहरु क्रिप्टोकरेन्सीको कारोबारतिर आकर्षित भएको पाइएको छ । पछिल्लो समय भने कारोबारको आकार बढेको छ ।

‘शुरुमा यस्ता कारोबारहरु थोरै कम र विदेशमा बस्ने नागरिकहरुले मात्रै गर्थे’ राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका एक कर्मचारी भन्छन्, ‘अहिले भने विदेशमा रहेका नेपालीहरु अत्यधिक यस्तो कारोबारमा लागेका छन्, उनीहरु आफैं मात्रै होइन नेपालमा रहेका आफ्ना आफन्तहरुलाई समेत यस्तो कारोबारमा जोडेका छन् ।’

क्रिप्टोकरेन्सी जस्ता भर्चुअल करेन्सीसँग सम्बन्धित हाइपर फण्ड नाम दिएको कोषमा समेत नेपाली तथा विदेशीहरुले रकम राख्ने गरेका छन् । ‘हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोशियल, क्राउड–१, सोलेम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने/गराउने गरेको जानकारी प्राप्त भएको छ’ राष्ट्र बैंकले भनेको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी कार्य गर्दा सर्वसाधारण ठगिने जोखिम छ ।’

दिनप्रतिदिन बढ्दो उजुरी

कैलालीका खड्का अवैध कारोबारमा संलग्न भएको सार्वजनिक भएपछि अहिले राष्ट्र बैंकदेखि राजश्व अनुसन्धान विभागसम्म उजुरीका चाङ छन् । राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार पहिले पनि क्रिप्टोकरेन्सीका विषयमा उजुरीहरु धेरै आउने गरेका थिए । यो घटना भएपछि उजुरी थप बढेको छ ।

उता राजश्व अनुसन्धान विभागमा पनि यस विषयमा उजुरी आउने क्रम बढेको छ । विभागका महानिर्देशक प्रकाश पौडेल खड्काविरुद्ध मुद्दा दायर भए पछि धेरै उजुरीहरु आएका छन् । ‘हामी सहयोग गर्छौं, कारोबारीहरुलाई यी यी हुन् भन्ने किसिमका कुरा पनि आएका छन्’ महानिर्देशक पौडेल भन्छन्, ‘कसैले रिसले मात्रै उजुरी गरेको हो कि साँच्चिकै कारोबार भइरहेको छ भन्ने कुराहरु पुष्टि हुन बाँकी छ, यस विषयमा हामीले अनुसन्धान गरिरहेको छौं ।’

राष्ट्र बैंक र अनुसन्धान विभागमा उजुरी परेकाहरु धेरैजसो काठमाडौंवासी नै छन् । यस विषयमा सम्बन्धित व्यक्तिहरुको बैंक खातामा अस्वाभाविक कारोबार भए/नभएको विषयमा समेत राष्ट्र बैंकमार्फत बुझ्ने काम भइरहेको विभागको भनाइ छ ।

पहिलो घटना सार्वजनिक भएको र अरु घटनाहरु अनुसन्धानकै क्रममा रहेकाले थप केही बोलिहाल्न नमिल्ने महानिर्देशक पौडेल बताउँछन् । पक्राउ परेका खड्का भने अहिले हिरासतमै छन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । अदालतले धरौटीमा छाड्ने वा जेल चलान गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।

खड्काले विभिन्न एपहरु प्रयोग गरी भर्चुअल मुद्राको कारोबार गरेको पुष्टि भएको छ । उनका परिवारका अन्य सदस्यहरुको खातमा समेत अस्वाभाविक कारोबार भएको पाइएपछि विदेशी मुद्रा अपचलन मुद्दामा जोडिएका छन् । तर उनी कसको माध्यमबाट यस्तो कारोबारमा जोडिए र उनले अरु कति जनालाई जोडे भन्ने विषयमा भने खुल्न बाँकी नै रहेको महानिर्देशक पौडेलले बताए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था बैंकर्स संघले पनि क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राको कारोबार नगर्न सचेत गराएको छ । सार्वजनिक सूचना निकाल्दै संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध नहुन भनेको छ ।

‘यस्तो कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ’ संघको विज्ञप्तिमा भनिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
९ सिमेन्ट उद्योगसहित १८ जना विरुद्ध एक अर्ब २४ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर !
पछिल्लो समाचार →
देउवा र नेपालको भयले धकेलिंदैछ स्थानीय चुनाव

Leave a Comment

Your email address will not be published. Required fields are marked *