युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कोभिडले तेस्रो वर्ष पनि हाम्रो शैक्षिक प्रणालीलाई प्रभावित गरिसक्यो । विस्तारै लयमा फर्कन लागेको शिक्षण सिकाइमा अनपेक्षित रूपमै अवरोध सृजना भएको छ । यो कहिलेसम्म लम्बिएला ? सहज अनुमान लगाउन सक्ने अवस्था छैन । अरू सबै क्षेत्र खुल्दा विद्यालय किन बन्द भन्ने प्रश्न पनि जर्बजस्त उठेको छ । सुरक्षित शिक्षण सिकाइका विषयमा बहस हुने गरेका छन् । विद्यालय अरू कुनै पनि सार्वजनिक संस्था वा बजार, होटल, पार्टी, यातायातसँग तुलना गर्न मिल्ने क्षेत्र होइन । हाम्रा विद्यालयमा भएका पुर्वाधार, कक्षाकोठा र अन्य परिवेशले सुरक्षित हुने वातावरण कम छ । यसो भनेर स्कुल खोल्नै हुँदैन भन्ने होइन तर स्कुल खोल्न संक्रमितको अवस्थालाई ध्यान दिनैपर्छ । यदि संघीय सरकार, स्थानीय सरकार र विद्यालयहरू तयार हुने हो भने सिकाइ सहजीकरण निरन्तर सञ्चालन हुन सक्छ । इच्छाशक्ति, साधन स्रोतको परिचालन, जवाफदेहिता र सहकार्य गर्न सकेमा जटिलता भएपनि असम्भव छैन ।

वैकल्पिक सिकाइ शिक्षण सिकाइका सन्दर्भमा एउटा समूहले शिक्षकको भूमिका बढी देख्यो । शिक्षकले गर्ने सक्ने भएर पनि गरेनन्, उनीहरू सिकाउन तयार भएनन्, इन्टरनेट छैन, अभिभावकमा चासो छैन, विद्यार्थीमा रुचि छैन भन्नेजस्ता समस्या मात्र देखाए । जे सकिन्छ, जे सम्भव छ त्यो गरेनन् । अर्को समूहले शिक्षकलाई प्रविधि दिइएन, ल्यापटप र डेटा दिइएन, तालिम दिइएन, प्रोत्साहन दिइएन, अनलाइन पढाउन गतिलो मोबाइल भएन भन्यो । वास्तवमा समस्या यी दुवै थिएनन् र होइनन् । समस्या हाम्रो जवाफदेहितामा रहेको थियो र छ । तीन वर्षमा पनि हामी करिब करिब उस्तै अवस्थामा छौँ । केही पनि नभएको त होइन तर तीन वर्षमा जे जति हुनुपर्थ्यो, हुन सक्थ्यो त्यो भएन र गरिएन । सहजता कुरेर बस्नेमा हामीले ध्यान दियौँ । अहिलेको परिवेशले पनि सहजता कुरिरहेको देखिन्छ । सिकाइ सहजीकरणको कुनै पनि विधि रामवाण हुन सक्दैन, समस्या नै नभएको हुँदैन तर त्यसलाई हामीले कति प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छौँ भन्ने हो । हाम्रो जस्तो परिवेश, विकासको अवस्था, सामाजिक आर्थिक अवस्था अभिभावकको सक्षमता, बिजुली, इन्टरनेट जस्ता पक्षले अनलाइन शिक्षण हाम्रो विकल्प होइन । सहरी क्षेत्रका निजी विद्यालयका लागि मात्र यो सम्भव होला । २ जना जागिरे र २ बच्चा भएको घरमा चारवटा साधन जोड्न पक्कै सहज छैन, यो भए राम्रो भन्ने विकल्प मात्र हो ।

यदि संघीय सरकार, स्थानीय सरकार र विद्यालयहरू तयार हुने हो भने सिकाइ सहजीकरण निरन्तर सञ्चालन हुन सक्छ । इच्छाशक्ति, साधन स्रोतको परिचालन, जवाफदेहिता र सहकार्य गर्न सकेमा जटिलता भएपनि असम्भव छैन ।

हामीसँग भएका विकल्पलाई प्रभावकारी बनाउने अभियान चलाउनु आवश्यक छ । कति सिकाउन सकिन्छ भन्नुभन्दा जति सकिन्छ त्यति नै सिकाउँ भन्नेमा जोड दिनु आवश्यक छ । नहुनुभन्दा के जाती भनेजस्तो साधारण फोन, म्यासेज गरेर पनि सिकाउन सकिन्छ र सिक्छन् भन्ने अनुसन्धानबाट नै प्रमाणित भइसकेका विषय हुन । पहुँचका दृष्टिले सबैभन्दा बढीको पहुँचमा भएको र पहुँच पुर्‍याउन सकिने रेडियो एउटा साधन हो । रेडियोप्रतिको दृष्टिकोण परिवर्तन गरेर स्थानीय स्तरमै पाठहरू विकास गरेर रेडियोलाई प्रभावकारी बनाउन सकिन्छ । निम्नस्तरको प्रविधि, उच्च पहुँच र सहजै सञ्चालन गर्न सकिने रेडियोलाई प्रभावकारी बनाउने केही उपायहरू यहाँ प्रस्तुत गरिएको छ । रेडियो रामवाण होइन तर पहुँचका दृष्टिले सबैभन्दा सहज भन्ने पक्कै हो । तसर्थ यसलाई प्रभावकारी बनाउने र यसलाई सिकाइ सहजीकरणको माध्यमका रूपमा प्रयोग गर्नु आवश्यक छ । पाठ किनेर होइन स्थानीय स्तरमा विकास गरिनुपर्छ । रेडियोसँग फोनलाई जोड्नुपर्छ । रेडियोसँग गृहकार्य जोड्नुपर्छ । रेडियो पाठ अनुगमन सञ्चालन गर्नुपर्छ । साना कक्षाका लागि रेडियोसँग क्लिनिक मोडेल सञ्चालन गर्नुपर्छ ।

– एक मिनेटमा पालिका क्षेत्रका विद्यार्थी र शिक्षकको जन्मदिनको शुभकामना दिन सकिन्छ । यसले उनीहरूमा रेडियो सुन्ने रुचि बढाउँछ । कार्यक्रमको शुरू, बीच र अन्तिमतिर यसलाई जोड्न सकिन्छ ।

– पाँच मिनेट जति समय केही फरक विषय, ग्रामीण विषय वा सहरी क्षेत्रका विषय, प्रविधिका विषय, समाज, संस्कृति आदि विषयमा छुट्टाउन सकिन्छ । यी विषयहरू नै सामाजिक अध्ययन विषय बन्न सक्छन । किशोर किशोरीका विषयहरू पनि हुन सक्छन । कुनै समय साथीसँग मनका कुरा भन्ने रेडियो कार्यक्रम सबैभन्दा धेरै सुन्ने कार्यक्रम अन्तर्गत पर्दथ्यो । त्यसपछि पनि कतिपय रेडियो कार्यक्रमहरू धेरैजनाले सुन्ने गरेका छन् । हामी शिक्षण सिकाइलाई यस्तै ढाँचामा उत्पादन र प्रसारण गर्न सकिन्छ ।

– विषयगत रूपमा क्वीजहरू सञ्चालन गर्ने, आजको पाठको अन्तिममा एउटा प्रश्न सोध्ने, हप्ताभरिका सातै प्रश्न मिलाउनेको नाम पढ्ने र कम्तीमा एकजनालाई पुरस्कृत गर्ने जस्ता सहभागितामुलक विधिमा जोड दिने ।

– गणित विज्ञानका केही जटिल र प्रयोगात्मक रूपमा शिक्षण गर्ने विषयलाई विद्यालय खुलेपश्चात् प्राथमिकता दिनेगरी हाल नेपाली, सामाजिक, विज्ञानजस्ता विषयमा बढी जोड दिने ।

– कार्यक्रमको बीचमा बालगीत, कुनै विद्यार्थीका सिर्जनाहरू वा विद्यार्थीले अनुरोध गरेका शैक्षिक सवालका प्रश्नोत्तर गर्ने ।

– प्रेरक प्रसंग, उदाहरणीय व्यक्तित्व र सफलताका कथाहरू पनि समय मिलाएर प्रसारण गर्न सके सुन्नेहरू बढ्नेछन् र यसले उनीहरूको सिकाइमा कुनै न कुनै रूपमा योगदान गर्नेछ नै ।

– रेडियो पाठ विकास गर्दाकै बखत विद्यार्थीसमेतको सहभागितामा अन्तरक्रियात्मक बनाउने ।

– कुनै एउटै विषय वा पाठलाई १० मिनेटभन्दा बढी निरन्तर नबजाउने ।

– फोन इन र लाइभ सेसनहरूमा जोड दिने ।

– पाठको प्रसारणलाई बढी रोचक र रुचीकर बनाउन बालबालिकासँग अन्तरक्रिया गर्ने तथा उनीहरूका विषयलाई बढी प्राथमिकता दिने ।

– स्थानीय स्तरमै शिक्षकहरूले कार्यक्रम उत्पादन गर्ने । बाह्य क्षेत्रबाट खरिद गरेका पाठ बजाएर प्रभावकारी बनाउन सकिँदैन ।

– पाठको अन्तिममा गृहकार्य दिने । गृहकार्य परीक्षणका लागि कक्षागत रूपमा पालैपालो विद्यालयमा बोलाउने वा टोलटोलमा समय निर्धारण गर्ने ।

– कक्षागत रूपमा रेडियोका पाठहरू बिहान, दिउँसो र बेलुका बजाउने । बेलुका साना कक्षा, दिउँसोमा माथिल्ला कक्षाका पाठ प्रसारण गर्ने ।

– रेडियोमा प्रसारण हुने पाठ र पाठको वारेमा अभिभावकलाई फोन गरेर सुन्न र सुनाउन अनुरोध गर्ने ।

– सम्भव भएसम्म पाठहरूलाई कथा, कविता वा कुनै घटना सन्दर्भको रूपमा प्रस्तुत गर्ने ।

– पाठ्यवस्तुलाई तीन समूहमा विभाजन गर्ने, कक्षागत रूपमा न्यूनतम हासिल हुनुपर्ने र पाठ्यवस्तु समायोजन ढाँचाले तोकेका शिक्षकले सहयोग गर्नुपर्ने विषयलाई प्राथमिकता दिने ।

– दुर्गम हिमाली क्षेत्र बाहेक अन्य क्षेत्रमा कम्तीमा पनि २/३ ओटा एफएम रेडियो सुनिन्छ, तिनीहरूसँग सहकार्य गर्न सकिन्छ । पालिका एक्लैले वा अन्य पालिकासँग मिलेर एफएम रेडियो सञ्चालन गर्न सकिन्छ ।

वैकल्पिक शिक्षण सिकाइ सम्भव रहेछ र हुन्छ भनेर उदाहरण दिने शिक्षक र विद्यालय हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । साँच्चिकै केही गरौँ भनेर मनैदेखि लाग्ने शिक्षकहरूले गरिरहेकै थिए र छन् । आफ्ना लागि आफैँ खोजिरहेका छन् । विद्यार्थी र अभिभावकलाई निरन्तर सम्पर्क गरेका छन् । मुख्य समस्या यो सङ्ख्या सानो भएको मात्र हो । यसलाई बढाउनु जरुरी छ । संघ वा प्रदेश सरकारले कतिओटा उपाय लेखेको निर्देशन पठाउला भन्ने कुरेर नबसौँ, अभ्यास गरौँ, प्रयोग गरौँ, यसरी हुन्छ भनेर सरकारलाई भनिदिउँ ।

वैकल्पिक शिक्षण सिकाइ सम्भव रहेछ र हुन्छ भनेर उदाहरण दिने शिक्षक र विद्यालय हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । साँच्चिकै केही गरौँ भनेर मनैदेखि लाग्ने शिक्षकहरूले गरिरहेकै थिए र छन् । आफ्ना लागि आफैँ खोजिरहेका छन् । विद्यार्थी र अभिभावकलाई निरन्तर सम्पर्क गरेका छन् । मुख्य समस्या यो सङ्ख्या सानो भएको मात्र हो । यसलाई बढाउनु जरुरी छ ।

तीन तहका सरकारले आफ्ना विद्यार्थी पढाउने तरिका आफैँ खोजौँ तर पढाउँ, हामी सहयोग गर्छौ भन्न सकेनन् । यसरी गर र उसरी गर मात्र भनिरहे । शिक्षक र विद्यालयलाई शिक्षण सिकाइको स्वायत्तता दिनु जरुरी छ । हरेक शिक्षकले आफूले जानेको विधि अनुसार सिकाइ सहजीकरण गर्न सक्छन् । स्थानीय परिवेश अनुसार शिक्षण सिकाइ सञ्चालन हुन सक्छ । विद्यालमात्र होइन कक्षा अनुसार र शिक्षक अनुसार र विद्यार्थी अनुसार फरक फरक वैकल्पिक विधि प्रयोग हुन सक्छ । यो जटिल त पक्कै हुन्छ तर विद्यमान जटिल परिवेशका लागि यसको जटिलतालाई स्वीकार गर्न सकियो भने प्रभावकारी हुन्छ । कक्षा पाँचसम्म विषय शिक्षण गर्ने परिपाटी तत्कालै अन्त्य नगरी वैकल्पिक शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्न । समाधानका विधि खोजी गर्नभन्दा त्यसको प्रयोगमा देखिने समस्याको कल्पनामा बढी जोड दिइयो । यसो गरे त्यसो हुन्छ, त्यसो गरे उसो हुन्छ भन्नेमा हामी धेरै समय व्यतीत गर्‍यौँ । अब के गरेर हुन्छ खोजी गरौँ, जे गरेर हुन्छ त्यही गरौँ । विद्यालयले आफ्ना रणनीति आफैँ तय गरौँ तर सबै गर्नुभन्दा पहिला हामी स्वस्थ हुनुपर्छ त्यसलाई बिर्सनु भएन् । बितेको दुई वर्षमा हामीले हाम्रो विद्यालय शिक्षाको शैक्षिक प्रणालीमा परिवर्तन गर्न सकेनौँ । वैकल्पिक सिकाइका सन्दर्भमा केही प्रयास भए पनि ती पर्याप्त भएनन् र छैनन् ।

प्रविधिको विकास र विस्तार मात्र पनि समस्याको समाधान होइन । प्रविधिले केवल सहजता मात्र ल्याउने हो । प्रविधिको प्रभावकारीता शिक्षकमा भर पर्ने भएकाले शिक्षक पहिलो प्राथमिकतामा हुनु आवश्यक छ । शैक्षिक प्रणालीमा सुधारको अवसर पटक पटक नआउन सक्छ । प्रविधिको विकास र विस्तारसँगै शिक्षक क्षमता विकास, सशक्तिकरण र परिचालनमा समेत नयाँ पद्धति खोजी गर्दै अवसरको सदुपयोग गर्न सक्नुपर्छ । यसका लागि सबै सरोकारवाला जिम्मेवार हुन आवश्यक पनि छ । यतिबेला हाम्रो शैक्षिक प्रणालीले पुर्नसंरचना खोजिरहेको छ त्यसतर्फ ध्यान दिन ढिला भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर