युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

राजतन्त्रको अन्त्यसँगै गणतन्त्र नेपालको स्थापना गर्ने महान उद्देश्य र लक्ष्यका साथ माओवादीले १ फागुन २०५२ बाट ‘जनयुद्ध’ सुरु गर्‍यो । जनताद्वारा राज्यसत्ता कब्जा गर्ने ध्येयका साथ युद्धको घोषणा गरिएको थियो । ‘जनयुद्ध’ घोषणा गर्दा तत्कालीन माओवादीका १९ कमाण्डरहरूले लामो छलफल र बहसबाट नेपालको राज्यसत्ता नपल्टाएसम्म देश र जनताको उन्मुक्ति नहुने निष्कर्ष निकालेका थिए । युद्धको थालनी गर्दा केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा मगर, हरिभक्त कँडेल, पोष्टबहादुर बोगटी, सीपी गजुरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिकाप्रसाद यादव, नारायणप्रसाद शर्मा, पम्फा भुसाल, दिनेश शर्मा, फडिन्द्र आचार्य, लोकेन्द्र विष्ट, यानप्रसाद गौतम, दण्डपणि न्यौपाने लगायत गरी जम्मा १९ जना रहेका थिए ।

केन्द्रीय समितिको बैठकबाट पारित ‘जनयुद्ध’को श्रीगणेश ठिक आजभन्दा २६ वर्ष अगाडि रुकुम, रोल्पा, गोरखा, सिन्धुलीमा एकैसाथ फौजी कारबाहीबाट गरिएको थियो । रुकुम, रोल्पालाई आधारभूमि बनाएर जलजला र थवाङमा पहिलोपटक जनसेनालाई परेड खेलाइएको थियो । १५ देखि १८ जना युवाले नेपाल कम्युनिष्ट पार्टी माओवादीको स्थापना गरेर ‘जनयुद्ध’मा होमिएको खबर तत्कालीन श्री ५ को सरकारले ध्यान दिएर सुनेन । झन् शासन सत्ता परिवर्तनको कुरा गर्दा केही मानिसको बहुलट्ठीको रूपमा लिइयो । अनेकौं अफवाह फैलाइयो ।

जबसम्म चन्द्र र सूर्य रहन्छन्, तबसम्म राजा-रानी अमर रहन्छन् भन्ने भक्तिगान गाउन लगाउनेहरू सत्तासीन थिए । त्यस्तो परिवेशमा केही युवाले गणतन्त्रको सपना देखेर हतियार उठाएको खबरले महत्व नपाउनु ठूलो कुरा भएन ।

रुकुम, रोल्पा जस्ता जिल्लाका दुर्गम बस्ती माओवादीको आधारभूमिमा परिणत हुन थाले । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि मुक्तिको मुद्दा उठाएकोले पनि उत्पीडितहरूले आफ्नो नेतृत्व र अभिभावक आएको अनुभूति गर्न थाले ।
२०५२ पछि यो मुद्दा यति स्थापित भयो कि पूरै देशको राजनीति यसैमा केन्दि्रत हुन पुग्यो । अभावले थिलथिलिएको उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका बस्ती माओवादीका

आधार इलाका बन्न थाले । त्यो स्वाभाविक पनि थियो । छुवाछूतको चलनले कथित ठूलो जात र सानो जातबीचको खाडल बढिरहेको थियो । सम्भ्रान्त वर्गले निम्न वर्गलाई गर्ने व्यवहारले माओवादीको युद्धलाई झन् टेवा पुग्ने निश्चित थियो र त्यही भयो ।

माओवादी पार्टीका लागि फागुन १ गते एउटा ठूलो महत्व बोकेको ऐतिहासिक दिन हो । यसको प्रभाव कालान्तरसम्म पर्ने निश्चित छ । जुनसुकै चिजको दुईवटा पाटा हुन्छन्- सकारात्मक या नकारात्मक । त्यस्तै ‘जनयुद्ध’ले पनि दुई पाटा नै बोकेर आएको थियो र सँगै दुई पाटा छाडेर पनि गयो ।

जनताको अधिकार जनतामा निहित हुनुपर्दछ । देशमा जात, धर्म, लिंग, वर्ण, वर्गका आधारमा कोही ठूलो वा सानो हुनुहुँदैन । सबैलाई राज्यले दिने सेवा र सुविधा समान हुनुपर्दछ । जन्मेकै आधारमा कोही राजा र कोही रैती हुनुहँुदैन । उच्च वर्गका ठालुहरूले निम्न वर्गका जनताको श्रम शोषण गरेर झन् झन् धनी हुने र निम्न वर्गका जनता झन् गरीब हुँदै जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत अधिकारहरू राज्यले सबैलाई प्रदान गर्नुपर्छ । यी र यस्तै राम्रो र समतामूलक अभ्यासको माध्यमबाट समानहरूका बीचमा समान प्रतिस्पर्धा हुने अवस्थामा मुलुकलाई पुर्‍याउन माओवादी आन्दोलनले एउटा विशाल अभियान नै सुरु गर्‍यो ।

यस्ता एजेन्डाले जनताको आकर्षण अवश्य त्यसतर्फ हुन्थ्यो नै । मैले जानेको र मेरो कलिलो मानसपटलले भोगेको माओवादी अहिलेभन्दा फरक थियो । त्यसले गाउँ बस्तीमा फटाहा, जँड्याहा, श्रीमती कुटुवा, जुवाडे, चोर आदिलाई कारबाही गथ्र्यो । समाजमा विद्यमान कुसंस्कारको विरुद्ध रूपान्तरणको अभियान सुरु गरेको थियो । मैले जानेको भोगेको माओवादी त्यही माओवादी हो । त्यस्ता अभ्यासले जनतामा माओवादीप्रति एक किसिमको सकारात्मक प्रभाव परेको थियो ।

१ फागुन २०५२ बाट औपचारिक रूपमा युद्धको सुरुवात गरेको माओवादीले २०५५ मा ३५ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गयो र भूमिगत अवस्थामा पार्टीका गतिविधि अघि बढायो ।

‘जनयुद्ध’लाई केवल सशस्त्र द्वन्द्वको रूपमा चित्रित गर्ने अवस्था आउँदा महान शहीद परिवार, घाइते, बेपत्ता परिवार र जिउँदा शहीद बनेका लडाकुलाई सहनै नसक्ने चोट बज्रन्छ । यो सत्य हो

युद्धमा रहेको माओवादीलाई जतिसक्दो धेरै कार्यकर्ता र लडाकु चाहिन्थ्यो नै । पछिल्लो समय बेइमान र गलत मानिसहरू पनि सरकार र माओवादीबाट बच्न माओवादी आन्दोलनमा प्रवेश गरे । त्यसले माओवादीभित्र पनि धेरै कमि-कमजोरी हुने अवस्था सिर्जना गर्‍यो ।

राज्य पक्षबाट कतिपय ठाउँमा आफैं माओवादी बनेर गाउँमा जाने, जनताका बाख्रा, कुखुरा, चामल जे भेटिन्छ त्यही उठाउने, मान्छेलाई विना गल्ती कुट्ने र माओवादीलाई बद्नाम बनाउने काम पनि गरिन्थ्यो । सबै व्यक्ति नयाँ भएकाले सबैको सोचविचार बुझ्न नै सुरुवातमा समस्या त माओवादीमा भएकै हो । त्यसमाथि माओवादीको भेषमा अन्य पक्षबाट भएको उद्दण्डता र माओवादीभित्रकै फटाहाहरूले माओवादीप्रति जनतामा गलत धारणा बनाउने काम समेत गरे ।

युद्धका बेला घाइतेको उपचार, लालनपालन, स्याहारसुसार एउटा चुनौतीपूर्ण काम हुन्थ्यो । राज्य पक्ष र माओवादी पक्षबीच युद्ध हुँदा राज्य पक्षसँग जनशक्ति, हातहतियार र अरू सबै स्रोतसाधन हुने तर माओवादीले सातु, चिउरा र पानी मात्र खाएर पनि कति युद्ध लडे ।

घाइते साथीलाई बोकेर लैजाँदै गर्दा छोडेर भाग्नुपर्ने र साथीलाई छाड्न नसक्दा सँगै सहादत हुने घटना पनि घटे । यस्ता दर्दनाक विगत आज एउटा इतिहास बनेको छ तर मानसपटलमा भने कम्तीमा यो पुस्तामा जीवित नै रहनेछ ।

नेपाली समाजमा महिला चुलो-चौको र घरधन्दाको चौघेरामा बन्द थिए । यसबाट बाहिर जानु वर्जित जस्तै थियो । यस्तो पितृसत्तात्मक संरचना र संस्कारमा महिलाले बन्दुक उचाले । ‘महिलाले बन्दुक चलाउँदा बांगो जान्छ’ भन्ने उक्तिलाई चुनौती दिंदै हजारौ महिला दिदीबहिनी चुलो-चौको सम्हाल्दै संग्रामको मैदानमा परेड खेल्न थाले । सही निशाना साधेपछि महिलाले चलाएको बन्दुक पनि सिधा लाग्दोरहेछ भन्ने प्रमाणित गरिछाडे । त्यसपश्चात तत्कालीन श्री ५ को सरकारले पनि महिलाहरूका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनामा उल्लेख्य मात्रामा भर्ती खुलाएको यथार्थलाई भुल्नुहुँदैन ।

युद्धले नेपाली समाजलाई जरैदेखि हल्लायो । दबिएका, हेपिएका वर्ग आफ्नो आवाज बोल्न सक्ने भए । विद्रोहको लहर चल्यो । संस्थापनविरुद्ध प्रश्न सोध्ने संस्कृतिको सुरुवात भयो । युद्धमा सबैभन्दा बढी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगबाट सहभागिता भयो । सोही समुदायबाट नयाँ-नयाँ नेतृत्व जन्मिए ।

विशेषतः पितृसत्तात्मक समाजले थोपरेका उत्पीडनका पहाडहरू भत्काउन महिला सफल भए । घरमा दाइजो नल्याएको, छोरा नपाएको, खाना नमिठो बनाएको अथवा महाराज र हुनेखाने पूँजीपति वर्गले दुई चारवटी विवाह गर्ने, सौता माथि सौता थप्दै जाने, महिला केवल सन्तान उत्पादनका फ्याक्ट्री वा कामवासनाको तिर्खा पूरा गर्ने साधनको रूपमा बुझ्ने अभ्यासविरुद्ध त युद्धले धावा नै बोल्यो ।

बहुविवाह गर्नेलाई भाटे कारबाही, घरेलु हिंसा गर्नेलाई कारबाही भए । महिलामा चेतनाको स्तर उकास्न प्रशिक्षण चले । उनीहरू पनि फौजीकृत हुन थाले । हिजो चुलोचौकोमा अल्मलिएका महिला अब लडाईंका मोर्चा सम्हाल्न थाले । यसबीचमा राज्यपक्षको अमानवीय यातना र बलात्कारका घटनाबाट पनि कैयौं महिला गुज्रनुपर्‍यो ।

१० वर्षे युद्धको क्रममा विद्रोही र राज्यपक्षबाट गरी १७ हजारभन्दा बढी मानवीय क्षति भयो । जो मरे, आखिर नेपाली जनता मरे । देश र जनताका निमित्त लड्दै गर्दा सहादत प्राप्त गरे । हजारौं मानिस घाइते भए । बेपत्ता नागरिकको संख्या पनि त्यत्तिकै छ । स-साना बालबच्चा टुहुरा बने । जो आज पनि जीवन र मरणको दोसाँधमा छटपटाइरहेका छन् । शरीरभरि गोली र छर्रा बोकेर जीवन निर्वाहको लागि भौंतारिने लडाकुहरू पनि यही समाजमा छन् । यतातर्फ न राज्यको ध्यान गएको छ न पार्टी नेतृत्वको ।

सन्तान र अभिभावक गुमाउने हजारौं आश्रति सदस्यहरूको अहिले पनि बेहाल छ । द्वन्द्वपीडित नागरिकको आँखाबाट आँशुको भेल रोक्न गतिलो प्रबन्ध राज्यले गर्न सकेको छैन । ‘जनयुद्ध’ भन्ने शब्द प्रत्यक्ष युद्ध लड्ने नेता कार्यकर्तालाई जति प्यारो शीर्ष नेतालाई रहेन । कैयौं नेता विचारबाट विचलित भइसके । प्रचण्ड स्वयम्ले पनि युद्धमा योगदान गर्ने आधारभूत वर्गको पक्षमा उल्लेख्य काम गर्न सकेनन् । आधारभूत वर्गबाट युद्ध लड्ने एक सिपाहीलाई जस्तै ‘जनयुद्ध’ प्रचण्डलाई प्यारो भइदिएको भए अहिले माओवादीको यो हालत हुने थिएन । युद्ध लड्ने प्रमुख नेता नै अहिले ‘जनयुद्ध’लाई १० वर्षे सशस्त्र द्वन्द्व भन्ने ठाउँमा पुगेका छन् ।

वास्तवमा जनताले लडेको युद्ध ‘जनयुद्ध’ नै हो । तर पार्टीका शीर्ष नेताले बलिदानीको जगमा उभिएर पद र प्रतिष्ठा प्राप्त गरे । वर्ग उत्थान गरे तर त्यही युद्धलाई संवैधानिक र कानुनी रूपमा बलियो गरी स्थापित गर्न सकेनन् । त्यो नै नेपाली जनताको लागि एउटा ठूलो दुर्भाग्य बन्यो । ‘जनयुद्ध’लाई केवल सशस्त्र द्वन्द्वको रूपमा चित्रित गर्ने अवस्था आउँदा महान शहीद परिवार, घाइते, बेपत्ता परिवार र जिउँदा शहीद बनेका लडाकुलाई सहनै नसक्ने चोट बज्रन्छ । यो सत्य हो ।

हिजो आधारभूत वर्गको लागि बलिदानीपूर्ण युद्धको नेतृत्व गर्ने नेताहरूको जीवनशैली क्रान्तिकारी ढंगले बदलिएको छ । वर्ग उत्थान भएको छ । ५० प्रतिशतभन्दा बढी शीर्ष नेताको जीवनशैली उच्च र सम्भ्रान्त वर्गको भन्दा आलिसान छ । उनीहरूको चरित्र मिल्छ । उनीहरू फागुन १ गतेलाई केवल कर्मकाण्डको रूपमा मात्रै सम्झेजस्तो गर्छन् । कतिपय त सम्झन पनि चाहँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित ख