Latest News
Kathmandu

प्रचण्डको गुनासो-सदन सार्न प्रधानमन्त्रीले भन्नुभयो, मेरो बदनाम गरियो

प्रचण्डको गुनासो-सदन सार्न प्रधानमन्त्रीले भन्नुभयो, मेरो बदनाम गरियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले भनेअनुसार पछि सारिए पनि आरोप आफूमाथि लगाइएको गुनासो गरेका छन् ।

माओवादी नेतृत्व र नेताहरुलाई बदनाम गराउने षडयन्त्र अनुसार आफूमाथि आरोप लगाइएको उनको ठहर छ ।

जनयुद्ध दिवसको अवसरमा आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री आफैंले सदनको बैठक पछि सार्नुपर्ने भनेपछि सञ्चारमन्त्रीले सभामुखलाई फोन गरेर बैठक सार्न भनेको तर प्रचण्डले सार्न लगाएको भनेर प्रचार गरिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री आफैंले कोभिडको यो स्थितिमा १० दिन पर सार्नुपर्छ भन्नुभयो, मैले ठिकै हो भनें । अनि सञ्चारमन्त्रीले सभामुखलाई फोन गर्नुभयो र हाम्रै अगाडिबाट १० दिन सार्नुपर्यो सभामुखजी भनेर भन्नुभयो । तर मिडियामा चाहिं के गरी बदनाम गर्न सकिन्छ यो प्रक्रियामा र जनतामा के गरी भ्रमित पार्न सकिन्छ भन्ने षडयन्त्रको अंगको रुपमा प्रचार गरियो ।’

उनले भने, ‘मिडियामा आयो- सभामुखलाई प्रचण्डले भनेर १० दिन सारियो सदन प्रधानमन्त्रीले नचाहँदा नचाहँदै । फेरि ६ दिन सारियो, प्रधानमन्त्रीले नचाहँदा नचाहँदै प्रचण्डको आदेशमा । अग्नि सापकोटा सभामुख नै होइन, आदि इत्यादी ।’

शनिबार यस विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेको र प्रधानमन्त्रीले नै सार्न लगाएको कुरा जनतामा भनिदिन भनेकाले आज आफूले यो कुरा गरेको प्रचण्डले बताए । ‘हिजो प्रधानमन्त्रीजीले भन्नुभयो- भन्दिनुस् जनतालाई यो झूटो कुरा हो । प्रधानमन्त्रीले नै गरेको हो भन्दिनुस् भन्नुभयो म आज त्यो भन्न पनि चाहें ।’

जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धिलाई उल्टाउने षडयन्त्र र माओवादी नेताहरुको बदनाम गर्ने अंग अन्तर्गत गलत प्रचार गरिएको प्रचण्डको भनाइ छ । सदनको कुरा सानो उदाहरण भएको बताउँदै उनले भने, ‘यस्ता थुप्रै कुराहरु छन् । ठूलठूला कुरा पनि छन् ।’

जनयुद्धको सुरुदेखि नै आफूहरुलाई सिध्याउने प्रयास भएको चर्चा गर्दै प्रचण्डले यस्ता षडयन्त्र परास्त गर्न सकिन्छ भन्ने आफ्नो विश्वास नडगमगाएको बताए ।

प्रचण्डले भने, ‘अहिले हामीलाई बदनाम गर्ने, कमजोर पार्ने, विभाजित गर्ने तमाम षडयन्त्रलाई परास्त गर्दै अझ विजयी भएर समाजवादको यात्रामा अगाडि बढ्न सक्छौं भन्ने मेरो विश्वास अहिले पनि त्यत्तिकै कायम छ, जति जनयुद्धको सुरुवात गर्ने बेलामा थियो ।’

प्रचण्डले प्रतिगमन, प्रतिक्रान्ति र माओवादी आन्दोलनलाई बदनाम गर्ने षडयन्त्रलाई परास्त गर्न सबै माओवादी घटकहरुलाई एकजुट हुन आह्वानसमेत गरे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वाणिज्य सचिवमा पाण्डे, भट्टराई प्रधानमन्त्री कार्यालयमा सरुवा
पछिल्लो समाचार →
बढ्यो नेपाल टेलिकमको नाफा

Leave a Comment

Your email address will not be published. Required fields are marked *