
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको हो ।
बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफू पछि पनि आफ्नो परिवारको उज्जवल भविष्यको परीकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ, कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारीक जीवनशैलीलाई नै परिवर्तन गर्छ । सबै व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यही चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ ।
न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ ।
के छन् विशेषता ?
नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् ।
न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार न्यूनतम बीमांक रकम एक लाख रुपैयाँदेखि अधिकतम बीमांक रकम एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिने छ ।
यस्ता छन् योजनामा समावेश भएका सुविधाहरु
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ प्रतिशत थप शुल्क लाग्नेछ ।
त्यसैगरी बीमांकको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाख रुपैयाँसम्मको बीमांकमा छुटको व्यवस्था छैन भने २५ लाख रुपैयाँभन्दा माथि बीमांकको बीमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।
समर्पण तथा कर्जा सुविधा
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।
दुर्घटना मृत्यु लाभ सुविधा : (ऐच्छिक)
१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।
बीमांक रकम भुक्तानी पाउने अवस्था :
पूर्णअवधि भुक्तानी :
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमा शुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ ।
मृत्यु दाबी भुक्तानी :
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ ।
बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमांक रकम एकमुष्ट भुक्तानी दिइनेछ ।