Latest News
Kathmandu

असिनाले ११ करोडको क्षति, कृषि बिमा नहुँदा किसानलाई मर्का

असिनाले ११ करोडको क्षति, कृषि बिमा नहुँदा किसानलाई मर्का

पोखरा । पोखरा ८ कि शारदा गिरीले व्यावसायिक रूपमै कौसी खेती गरिरहेकी छिन् । हरेक महिना उनले घर खर्च चल्ने कमाई तरकारी बेचेर गर्छिन् । आइतबारको असिनाले कौसीको हरियाली क्षणभरमै स्वाहा भयो । ‘मनै अमिलो बनेको छ । प्रकोपमाथि कसैको केही नलाग्ने रहेछ,’ उनले भनिन्, ‘लहलह फलेका सबै तरकारी बोटै सहित भुईँमा खसे । कसलाई के भन्नु ?’

खुला आकाशको खेती मात्रै होइन टनेल र प्लास्टिक घरभित्र गरिएका खेती पनि स्वाहा भएको छ । पोखरा ११ फूलबारीमा रहेको उदय अर्ग्यानिक कृषि फार्मको मात्रै २० लाख भन्दा बढी क्षति भएको छ । तरकारी सबै सखाप भएको छ भने व्यावसायिक रूपमा पालिएको भैँसी पनि मारेको छ ।

‘विक्षिप्त पार्‍यो पापी असिनाले । घर, गोठ प्लास्टिक टनेल केही छोडेन,’ सञ्चालक फलमान गुरुङले भने, ‘यस्तो अहिलेसम्म भोग्नुपरेको थिएन । साह्रै मन पोलेको छ ।’ त्यहीँको काबेरी कृषि फार्म र मनकामना नर्सरीको पनि २० लाख हाराहारी क्षति छ । पोखरा महानगरपालिकाले किसानको क्षति खोजी गरिरहेको छ । अनलाइन मार्फत क्षति विवरण संकलन गरिरहेको महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

‘कृषि उत्पादनलाई बिमा सँग जोड्न नसक्दा हरेक वर्ष यसै गरी क्षति बेहोर्नु परेको छ । बिमाप्रति न किसान आकर्षित भए, न त सरकारले पहल गर्न सक्यो,’ उनी भन्छन्, ‘बिमामा नजोडिएसम्म यो खालको क्षति सधैँ भइरहन्छ ।’ अहिले क्षति भएका किसानका फसललाई आगामी कार्यक्रमसँग जोड्ने उनको भनाई छ । ‘अहिले नै सबै थोक गर्न नसकिएला । क्षतिपूर्ति भन्ने पनि सजिलो छैन,’ उनले थपे, ‘आगामी वर्षको कार्यक्रममा जोडेर केही राहत दिने प्रयास गर्छौँ ।’

असिना पानीका कारण पोखरा महानगर क्षेत्रमा मात्रै करिब ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । कडरियाका अनुसार पोखराको वडा ३, ९, ११, १२, १३, १४ र १८ मा बढी क्षति पुगेको छ । वडा नम्बर ३, ९ र ११ असिनाको इपिसेण्टर नै बनेको उनको भनाई छ । यहाँका विभिन्न वडामा गरी करिब १ हेक्टर क्षेत्रफलमा क्षति पुगेको आँकडा निकालिएको छ । उदय अर्ग्यानिक कृषि फार्मका २ वटा भैँसी असिनाकै कारण मरेका छन् । पोखरामा आइतबार दिउँसो बाक्लो असिना परेको थियो । कतिपय ठाउँमा अहिलेसम्म पनि असिना बाँकी छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विश्वकप छनोट : यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै
पछिल्लो समाचार →
कोरोना महामारीले स्ट्याण्डअप कमेडियन बेरोजगार

Leave a Comment

Your email address will not be published. Required fields are marked *