Latest News
Kathmandu

तीन नेता प्यानलसहित प्रतिस्पर्धामा, कांग्रेसको कैलाली जिल्ला अधिवेशन आज

तीन नेता प्यानलसहित प्रतिस्पर्धामा, कांग्रेसको कैलाली जिल्ला अधिवेशन आज

धनगढी । लामो समयको प्रतिक्षापछि नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आइतबार हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार पूर्वउपसभापति नारायणदत्त भट्ट, अहिलेका जिल्ला उपसभापति प्रकाशबहादुर बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धामा रहेका तीन जनामध्ये भट्ट र बम संस्थापन पक्ष र कलेल संस्थापन इतर शेखर कोइराला पक्षका मानिन्छन् ।

नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल, रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बीसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका नेता बडुवालले भट्टलाई समर्थन जनाउँदै उनकै प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेद्वारी दिएका छन् ।

कलेलको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिकाअनुसार आइतबार बिहान नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुने उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । तर कैलालीमा तीन जना चुनावी मैदानमा भएकाले पहिलो चरणमै सभापतिको छिनोफानो हुने सम्भावना कम रहेको नेताहरु बताउँछन् ।

तर कतिपयले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासहितका कैलालीमा रहेका केन्द्रीय सदस्यहरुले नारायणदत्त भट्टलाई सघाएका कारण नेतृत्व भावनाअनुुसार प्रतिनिधिले मतदान गरेमा पहिलो चरणमै उनी विजयी हुने सम्भावना प्रबल रहेको पनि दाबी गर्न थालेका छन् ।

यद्यपि विगतमा देउवाले नै आफूलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको तर अहिले उपेक्षा गरेको बताउने अर्का उम्मेदवार बमले नै उनलाई कडा टक्कर दिने विश्लेषण गरिएको छ । बम पक्षधरले भने अगामी अधिवेशनबाट उनी नै पार्टी सभापति बन्ने दाबी गर्न थालेका छन् । तर बमको साथमा तत्कालीन पार्टी सभापति समेत रहेका सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह बाहेकका अन्य नेताहरु नरहेका कारण निर्वाचनको नतिजा उनी अनुकूल नहुने कतिपय कार्यकर्ताको अनुमान छ ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावल, केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुुर ओड, उपप्रमुख सुशीला मिश्र भट्ट समेतका नेताहरु खुलेर भट्टको पक्षमा देखिएका छन् । पहिलो चरणको मतदानबाट सभापतिको छिनोफानो नभएको खण्डमा दोस्रो चरणमा तेस्रो हुने उम्मेदवारले कुन पक्षलाई सघाउँछ भन्ने कुराले पनि जिल्ला सभापति चयनमा अर्थ राख्ने नेताहरु बताउँछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा
पछिल्लो समाचार →
प्रदेश १ को संसद बैठक ३ महिनापछि आज बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *