Latest News
Kathmandu

जसपा नेताहरू कार्यकारिणी छाडेर गुटको बैठकमा

जसपा नेताहरू कार्यकारिणी छाडेर गुटको बैठकमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ ।

कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ-आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक नेताले जानकारी दिए ।

गत शुक्रबारबाट ललितपुरमा सुरु भएको बैठक विवाद समाधान नहुँदा सम्पन्न हुन सकेको छैन । आज दुवै पक्षका शीर्ष नेता बसेर साझा निष्कर्षमा पुग्न प्रयास हुनेछ । ‘मंगलबार दुई समूहले छुट्टाछुट्टै बैठक बसे, आज दुवै समूहबाट तीन-तीन जना शीर्ष नेता बसेर आफ्नो समूहको निष्कर्षमाथि छलफल गर्ने तयारीमा हुनुहुन्छ,’ ती नेताले भने, ‘आज भट्टराई समूहबाट अध्यक्ष भट्टराई, महेन्द्र राय यादव र इस्तियाक राई अनि यादव समूहबाट अध्यक्ष यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ छलफलमा जुट्नुहुनेछ ।’

विवादको चुरो

स्थानीय तहको चुनाव नजिकिँदै छ भने प्रदेश र संघीय चुनावको मिति पनि धेरै टाढा छैन । यस्तो अवस्थामा खासगरी मधेस प्रदेश का महेन्द्र राय यादव र उपेन्द्र यादवसँग दूरी बढाएका नेताहरूका साथै लुम्बिनी प्रदेशका इस्तियाक राई लगायतका नेताहरू अहिले अध्यक्ष यादवसँग शक्ति संघर्षमा छन् । पार्टीभित्र असन्तुष्टहरूको नेतृत्व संघीय परिषद् अध्यक्ष डा. भट्टराईले गरिरहेका छन् ।

‘अध्यक्ष यादवले चुनावमा टिकट नदिने र अप्ठ्यारोमा पार्न सक्ने आशंका खासगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशका साथीहरूलाई छ’ जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘पार्टीभित्र शक्ति बाँडफाँट गरेर विश्वासको वातावरण सिर्जना नगरे उहाँहरूलाई पार्टीमा रोक्न सक्ने अवस्था छैन ।’

३६ सदस्यीय केन्द्रीय कार्यकारिणीमा रेशम चौधरीले पार्टी छाडिसकेका छन् भने परशुराम खापुङ प्रदेश एक को प्रमुख रहेका छन् । बाँकी रहेको ३४ जनामा डा‍ भट्टराई पक्षमा १४ जना खुलेका छन् । राजकिशोर यादव र हेमराज राई लगायत चारजना कतै खुलेका छैनन् । १६ जना यादव पक्षमा खुलेका छन् । अहिले दुवैतर्फ स्पष्ट बहुमतको अवस्था छैन ।

यही शक्ति सन्तुलनका कारण नेताहरूबीच छलफल गरेरै विवाद मिलाउनुपर्ने बाध्यता देखिन्छ । ‘कम्तिमा आउँदो पार्टी अधिवेशनसम्म तीन प्रमुख नेताबीच कार्यकारी अधिकार बाँडफाँट हुनुपर्छ भन्ने विषयमा सबैभन्दा धेरै विवाद छ,’ तटस्थ भूमिकामा देखिएका एक कार्यकारी सदस्यले भने ।

तर, पार्टीभित्र एकभन्दा धेरै अध्यक्ष राख्ने अभ्यास जसपाभित्र मात्रै नभएर अन्य पार्टीमा समेत प्रभावकारी नभएको र त्यस्तो अभ्यास गर्ने कुनै पनि पार्टी सिंगो नरहेको तर्क गर्छन् अध्ययक्ष यादव पक्षीय नेता प्रमोद यादव ।

सुरुमा एमसीसीबारे अस्पष्टता रहे पनि जसपाले बैठकमार्फत् एमसीसीसीको पक्षमा सर्वसम्मत निर्णय गरेको थियो । कार्यकारी अधिकार बाँडफाँटसहित जसपाभित्र केन्द्रीय समितिलाई समावेशी बनाउने गरी नयाँ सदस्यहरू मनोनित गर्ने लगायतका १२ एजेन्डामा छलफल भइरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पढिरहेका मोफसलका विद्यार्थीलाई काठमाडौंमा निःशुल्क इन्डक्सन चुल्हो
पछिल्लो समाचार →
अमेरिका चोरी भएर पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो

Leave a Comment

Your email address will not be published. Required fields are marked *