Latest News
Kathmandu

अनेरास्ववियुको माग त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न

अनेरास्ववियुको माग त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । उसले सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न माग गरेको छ ।

अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गरी खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको काम कारबाहीलाई प्रभावित गर्नु प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको उल्लेख गरेकी छन् ।

आफूहरूलाई छुट्टै परीक्षा लिएर स्थायी गर्नुपर्ने माग राख्दै आएका आंशिक प्राध्यापकहरूले हाल त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा आयोगले तोकेको परीक्षा अन्योलमा परेको छ ।

अनेरास्ववियुले भने आंशिक प्राध्यापकले सेवा आयोगमा तालाबन्दी गर्नुलाई अराजकता भनेको छ । ‘अस्थायी वा करारका कर्मचारीले लोक सेवा आयोगमा, अस्थायी शिक्षकले सेवा आयोगमा ताला लगाई परीक्षालाई प्रभावित गरेको सायदै कम भेटिन्छ ।’

अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ, ‘तर, त्रिवि मा त्यही कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्टा हो ।’

अनेरास्ववियुले कुनै डर, त्रास र दबावमा नगरी स्वच्छ ढंगले परीक्षा सञ्चालन गर्न सेवा आयोगलाई आग्रह गरेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रकाश दूतराज : अभिनयमा धेरै रुचि छैन
पछिल्लो समाचार →
पेट्रोलियमको मूल्य रेकर्ड राख्दै , खपत घटाउनु नै उत्तम विकल्प

Leave a Comment

Your email address will not be published. Required fields are marked *