Latest News
Kathmandu

पोखराको मेयर नछाड्न भन्दै कांग्रेस नेताहरुको डेलिगेसन

पोखराको मेयर नछाड्न भन्दै कांग्रेस नेताहरुको डेलिगेसन

सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस, कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका छन् ।

पूर्वमन्त्री यज्ञबहादुुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका हुन् । पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने छन् ।

उनीहरुले सभापति देउवासहित उपसभापति, महामन्त्री र शीर्ष तहका नेताहरुसँग भेट्ने तय भएको छ । ‘केही काठमाडौंमै हुनुहुन्छ । ठूलो संख्यामा पोखराबाट जान लागेका छौं,’ डेलिगेसनमा आएका पूर्वमन्त्री थापाले भने ।

सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई ३ महानगर लिएर गठबन्धनका अरु दलका लागि ३ वटा छाड्न प्रस्ताव गरेका छन् । काठमाडौं, विराटनगर र ललितपुर लिन प्रस्ताव गरेका उनीहरुले भरतपुर माओवादीले, वीरगञ्ज जसपाले र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन् ।

सत्ता गठबन्धनका अन्य दलको तुलनामा पोखरामा कांग्रेस बलियो रहेको भन्दै नेताहरुले मेयर छाड्न नसक्ने बताएका छन् । पूर्वमन्त्री थापाले भने, ‘पोखरामा मेयर हामीले नपाउने हो कि जस्तो देखियो । तर अरुलाई जिताउन सकिन्न,’ थापाले भने, ‘अरुलाई उम्मेदवार बनाउनु सुसाइड जस्तो हुन्छ ।’

पोखराको मेयर आफूहरुले लिएर अरु पदमा छलफल गर्न सकिने कास्कीका कांग्रेस नेताहरु बताउँछन् । ‘मेयर कांग्रेसले पाउनुपर्छ । अरु पदमा भने छलफल गरेर हामी लचिलो हुन तयार छौं,’ थापाले भने, ‘३/३ (महानगरपालिका) बाँड्ने नेताहरु बीच कुरा भएको सुनेका छौं । त्यसो हुँदा पोखरा अरुलाई दिने हो कि भन्ने शंका लागेर काठमाडौं जान लागेका छौं ।’

पोखरा पुगेका कांग्रेस नेता रामचन्द्र पौडेललाई पनि मेयर छोड्न नसकिने सुनाएको थापाले बताए ।

कास्कीका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका साथै ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रलाई पोखरा महानगरले छोएको छ । पोखराका ११/११ वटा वडा तीन वटा प्रतिनिधि सभाको क्षेत्रमा पर्छ । ‘मेयर गुमायौं भने प्रदेश र केन्द्रको चुनावमा पनि असर गर्छ’ थापाले भने, ‘यो कुरा नेताहरुले बुझ्नुपर्‍यो नि !’

गत निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मतसहित पोखरा महानगरपालिकामा जित हासिल गरेका थिए ।  कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएर पराजित बने ।

पोखरा महानगरमा २ लाख ७ हजार मतदाता छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छः प्रधानमन्त्री देउवा
पछिल्लो समाचार →
मेलम्चीको पानी सुरुङबाट काठमाडौंतर्फ छाडियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *