काठमाडौं । अर्थमन्त्रालयको चमेनागृहबाट आजदेखि एलपी ग्यास विस्थापन गरिएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा अर्थमन्त्रालयबाट एलपी ग्यासको विस्थापन गरिएको हो ।
प्रवक्ता ढुण्डी प्रसाद निरौलाका अनुसार आजदेखि नै अर्थ मन्त्रालयको सचिवालयहरु, महाशाखाहरु तथा चमेना गृहबाट एलपी ग्यास विस्थापन गरेर
विद्युतीय चुलो प्रयोगमा ल्याएको हो ।
‘आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यको बुदा नं २५३ मा सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था बमोजिम अर्थ मन्त्रालयको सचिवालयहरु, महाशाखाहरु तथा चमेना गृहमा २०७९ साउन ३० गते देखि पूर्ण रुपमा ग्याँस चुलो विस्थापन गरी आज १ गते देखि विद्युतीय चुलो उपयोगमा ल्याइएको छ’, उनले भने ।
गत साउन महिनाभित्रै सिंहदरबारभित्रका सबै चमेनागृह तथा भोजनगृहहरुबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले सम्भव हुन सकेको थिएन । अधिकांश चमेनागृहले विद्युतीय चुल्होको तयारी गरेको भए पनि बिजुलीको नियमित आपूर्तिको प्रबन्ध गरिदिन आग्रह गरेका छन् ।
उक्त समस्या समाधानका लागि प्राधिकरणले पहल गरिरहेको र बिना अवरोध विद्युतीय चुल्होको प्रयोग गर्न सक्ने गरी व्यवस्था हुने बताइएको छ ।

Leave a Comment