युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नागरिकताविहीन युवाहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरू गरेका छन् । उनीहरूले नागरिकता विधेयकसँग आफूहरूको भाग्य र भविष्य जोडिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद्‍बाट पास भएको नागरिकता विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रह पनि गरेका छन् ।

संविधानले जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले नागरिकता पाउने व्यवस्था गरे पनि कानुन नबन्दा नागरिकता पाउनबाट बञ्चित भएको भन्दै नागरिकताविहीन युवाहरूले संघर्ष समिति नै बनाएर लामो समयदेखि नागरिकता ऐन जारी गर्न माग गर्दै आएका छन् ।

संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका अनुसार आफूहरूले नागरिकता प्राप्त गर्न सक्ने गरी दुवै सदनबाट विधेयक पास भइसके पनि अब राष्ट्रपतिबाट संविधानको व्यवस्थाबमोजिम आफूहरूले नागरिकता पाउने अवस्थाबाट बञ्चित गर्ने प्रयास भइरहेको छ । राष्ट्रपति भण्डारीले मंगलबार साँझसम्ममा विधेयक प्रमाणीकरण गर्ने आशावादी रहेको उनले बताए ।

दुवै सदनबाट दुई–दुई पटक पास भएको विधेयक फेरि राष्ट्रपतिबाट रोक्ने काम भए आफूहरूले आत्महत्या गर्ने अवस्था सिर्जना हुने बताए । ‘नागरिकता नभए के–के भोग्नुपर्छ ? त्यो हामी भोग्नेलाई थाहा छ । नागरिकता नपाएर न पढ्न पाएको छ, न जागिर खान । एउटा सिम कार्ड पाउने अवस्था छैन, न बैंक खाता खोल्न मिल्छ । यतिसम्म कि हामीलाई गाउँबाट काठमाडौं आएर होटेलमा बस्नको लागि पनि नागरिकता देखाउनुपर्ने हुन्छ । हामीले के गरेर बाँच्ने ?’, उनले भने ।

नागरिकता विधेयक पास भए नेपालीलाई भन्दा विदेशीलाई फाइदा हुने भनेर गलत प्रचार भएको उनको भनाई छ । धर्नामा रहेका अर्का एक युवाले राष्ट्रपति भण्डारीलाई आफूहरूको भविष्यसँग खेलवाड नगरिदिन आग्रह गरे ।

‘राष्ट्रपतिज्यू हाम्रो भविष्यसँग खेलवाड नगरिदिनुस् । तपाइँ विभिन्न दलका नेतालाई बोलाएर विधेयकबारे परामर्श गर्नुभएको छ । तर हामी पीडित हौं । पीडितलाई त कहिल्यै बोलाउनुभएन । संविधान सबैका लागि हो । संविधानअनुसार हामीलाई नागरिकताविहीन बनाउन पाउनुहुन्न । तपाइँले हाम्रो भविष्यबारे सोचिदिनुस्’, उनले भने ।

संसद्का दुवै सदनबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा मंगलबार सकिँदैछ । मंगलबारसम्म राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरे त्यो कार्यान्वयनमा जाने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर